रमेश सापकोटा (नयाँ पत्रिका दैनिक)
जेठ ५, काठमाडौं । निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । तर, उनले टिकट पाएनन् । कांग्रेसका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै उनीविरुद्ध यसअघि नै उजुरी परेको थियो । उजुरी परेपछि खनियाँसँग स्पष्टीकरण सोध्ने तयारी तत्कालीन समितिले गरेको थियो । तर, समिति काम नै अघि नबढाई निष्क्रिय हुन पुग्यो । अहिले बनेको अनुशासन समितिले पहिलेका उजुरीको फाइल पनि खोल्न थालेको छ । उनीविरुद्ध परेको उजुरीमा छानबिन हुने, आवश्यक परे पत्र काट्ने र पुष्टि भए कारबाही गर्ने कांग्रेस अनुशासन समितिले जनाएको छ ।
नेताहरूविरुद्ध स्वदेश मात्र होइन, विदेशबाट पनि उजुरी
पार्टी अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी परेका छन् । निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग नगरेको, विपक्षी दलको उम्मेदवारलाई जिताउन भूमिका खेलेको, टिकटमा मनोमानी भएकोजस्ता विषयमा बढी गुनासो परेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
स्याङ्जामा गोपालमान श्रेष्ठकै कारण निर्वाचन हारिएको भन्दै पुराना नेता भोजराज अर्यालले उजुरी दर्ता गराएका छन् । प्रभावशाली नेता श्रेष्ठले उम्मेदवार मिलाउन नसक्दा आफू पनि हारेको र पार्टीलाई पनि हराएको आरोप उनीमाथि लागाइएको छ ।
नवलपरासीबाट देवेन्द्रराज कँडेलविरुद्ध पूर्वसांसद विक्रम खनालले उजुरी दिएका छन् । पूर्वस्थानीय विकास राज्यमन्त्री दुर्योधनसिंह चौधरीविरुद्ध पनि रुपन्देहीमा अन्तर्घात गरेको भन्दै उजुरी परेको छ । रुपन्देही कांग्रेस सभापति अब्दुल रज्जाकविरुद्ध पनि उजुरी परेको छ । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही र रुकुमकी सांसद मिठु मल्लविरुद्ध पनि उजुरी परेको छ । जापान र बेल्जियमको जनसम्पर्क समितिमा हस्तक्षेप गरी अधिवेशन गर्न नदिएको भन्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध उजुरी परेको स्रोतले बतायो ।
अनुशासन समितिले तीनै तहको निर्वाचनमा देशभरका बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकको विवरण मागेको थियो । तर, केही जिल्लाबाहेक अन्यले अझै बागीको विवरण पठाएका छैनन् । ‘केही जिल्लाबाट आएका छन्, तर केही जिल्लाबाट नियतवश आएनन्, यसले पनि छानबिनमा ढिलाइ भएको छ,’ कँडेलले भने । सम्बन्धित जिल्लाको नेतृत्वले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकको सूची पठाएपछि विधानअनुसार उनीहरू स्वतः पार्टी सदस्यबाट बर्खास्त भइसकेका छन् । उनीहरूमाथि संस्थागत रूपमा पनि कारबाहीको प्रक्रिया अघि बढ्ने अर्का अनुशासन समितिका अर्का सदस्य किशोरसिंह राठौर बताउँछन् ।