हिमालसँग टाढिँदै शेर्पा

163

-मनबहादुर बस्नेत ( नेपाल)

बैशाख २८, काठमाडौं । हिमाल चढ्यो कि भिसा लाग्यो’, आरोही यस्तै भन्छन् । हिमाल आरोहीलाई युरोपेली मुलुक, अमेरिका र जापानले प्रतिष्ठित मानेर सहजै प्रवेश दिने भएकाले यस्तो भनाइ प्रचलित भएको हो । घटना, प्रवृत्ति र पात्रले यही कुरालाई पुष्टि गरिरहेको छ । हिमाल आरोहणबाटै शेर्पा समुदाय विश्वविख्यात बन्यो । सर्वोच्च चुली सगरमाथा आरोहणमा मात्रै अनेकौँ विश्व कीर्तिमान शेर्पा समुदायकै आरोहीका नाममा सुरक्षित छन् । हिमाल र शेर्पा पर्याय बनेका छन् । तर आरोहणमा विख्यात यो समुदायको पछिल्लो पुस्ता भने बिस्तारै यसबाट विमुख बन्दै गएको आँकडाले देखाउँछ ।

हिमाल आरोहणको सात दशकको छोटो इतिहासमै नेपालको अन्तर्राष्ट्रिय ब्रान्ड बनेको शेर्पा समुदाय बिस्तारै विमुख हुने खतरा देखिएको सरकारी आँकडाले संकेत गर्छ । “यो हाम्रा लागि साह्रै चिन्ताको कुरा हो,” पर्यटन व्यवसायी आङछिरिङ शेर्पा भन्छन्, “हाम्रो प्रसिद्ध चिनारीलाई संकटमा धकेल्दै छ ।”

ब्रान्डमा धक्का
सन् १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारीसँगै सगरमाथामा पहिलो मानव पाइला राख्ने व्यक्ति थिए, सोलुखुम्बु, थामेमा जन्मिएर भारत दार्जिलिङमा हुर्किएका तेन्जिङ नोर्गे शेर्पा । त्यसयताको ६६ वर्षभन्दा बढी कालखण्ड विदेशीलाई हिमाल चढाउन सघाउने पेसामा शेर्पा समुदायकै वर्चस्व रह्यो । अहिले पनि बहुसंख्यक पर्वतारोहण पथप्रदर्शक यही जातिका छन् । तर यो रफ्तारमा विराम लागेको मात्र छैन, पेसामा पस्ने शेर्पा समुदायको संख्या पनि घट्न थालेको छ ।

हिमाल आरोही पथप्रदर्शकलाई तालिम र अनुमतिपत्र दिने नेपाल पर्वतारोहण संघको तथ्यांक त झनै झस्काउने खालको छ । सन् २०१७ र २०१८ मा संघबाट अनुमतिपत्र लिने शेर्पाको संख्या घटेको छ । आरोहण सहयोगी, सिनियर आरोहण सहयोगी र सरदार शेर्पाको संख्या घटेको तथ्यांक निस्कन्छ । सिनियर आरोहण सहयोगीको संख्या सन् २०१७ को तुलनामा २०१८ मा ५१ प्रतिशत घटेको छ । सरदार तीन प्रतिशत र आरोहण सहयोगी संख्या ११ प्रतिशतले ओर्लिएको छ । यसमा २०१९ सुरुको तीन महिने तथ्यांकसमेत समेटिएको छ । यो संख्या कटाउने हो भने ह्रास प्रतिशत अझै बढ्छ ।

पर्यटन विभागको तथ्यांकले समेत सगरमाथा आरोहण गर्ने शेर्पा जातिको प्रवेश ऋणात्मक हुन थालेको आकृति देखाउँछ । विभागको आँकडाअनुसार सन् २००० देखि २०१० मा आइपुग्दा सगरमाथा आरोहण गर्ने शेर्पाको संख्या ७२ प्रतिशत बढेको थियो । तर सन् २०१० देखि २०१६ मा आइपुग्दा वृद्धिदर २० प्रतिशतमा झर्‍यो । भलै उक्त अवधिमा सगरमाथा आरोहण गर्नेको वृद्धि संख्यासमेत खस्केको देखिन्छ । पछिल्लो एक वर्षमा त सगरमाथा चढ्ने शेर्पाको संख्या १९ प्रतिशत घट्यो । सन् २०१६ मा २ सय ४० जना शेर्पा सगरमाथा चुचुरो पुगेका थिए भने अर्को वर्ष त्यो संख्या २ सय ३ मा झर्‍यो । जबकि उक्त वर्ष आरोहीको संख्या अघिल्लो वर्षभन्दा १४ प्रतिशत बढेको थियो ।

नेपालमा हिमाल आरोहण सुरु भएकै शेर्पा समुदायबाट हो । सगरमाथाको फेदीमा अवस्थित खुम्बु क्षेत्रका शेर्पालाई यसको श्रेय जान्छ । ज्ञातव्य रहोस्, सर्वोच्च शिखर सगरमाथा पुग्न सफल तेन्जिङ नोर्गे यही भेगका हुन् । उनकै पदचाप पछ्याउँदै शेर्पाहरूले हिमाल आरोही जातिको छवि विश्वभर फैलाएको सात दशक पुग्न आँट्यो । “तर अब यो जातिको पछिल्लो पुस्ताले हिमाल आरोहणमा रुचि कम गर्न थालेका छन् । यस्तै हो भने शेर्पा जातिको आरोहण सीप इतिहास मात्रै हुन बेर छैन,” सबैभन्दा धेरैचोटि सगरमाथा चढेका कीर्तिमानी आरोही कामीरिता शेर्पा चिन्ता गर्छन् ।