लामोसाँघु–जिरी सडक दैनिक पाँच घन्टा अवरुद्ध

178

श्याम खतिवडा ( नयाँ पत्रिका)
बैशाख २३, दोलखा । लामोसाँघु–जिरी सडक विस्तारको पहिलो खण्डमा कालोपत्रे सुरु भएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडे बजारसम्मको सडकमा आइतबारदेखि कालोपत्रे सुरु भएको हो ।कालोपत्रे सुरु भएसँगै खाडीचौर–चरिकोट सडकखण्ड आइतबारदेखि दैनिक पाँच घन्टा बन्द हुने भएको छ । काम प्रभावित नहोस् भनेर सडक विस्तार आयोजनाले दैनिक पाँच घन्टा सडक आवागमन बन्द गराएको सडक विस्तार आयोजनाप्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए ।

लगातार सवारी आवतजावत हुँदा काम प्रभावित हुने र गुणस्तरीय काम नहुने भएकाले सवारी आवागमनमा रोक लगाइएको उनले प्रतिक्रिया दिए । आयोजनाप्रमुख झाका अनुसार हरेक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म सडकमा आवागमन अवरुद्ध हुनेछ । ‘पहिलो चरणमा १५ दिन सडक अवरुद्ध हुनेछ,’ उनले भने, ‘पहिलो चरणको १५ दिन सकिएपछि ठेकेदारको कामको रफ्तार र सवारी चापलाई हेरेर कुन समय गर्ने भन्ने निर्धारण गर्छौँ’ । सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखाको सदरमुकाम चरिकोट हुँदै पर्यटकीय नगरी जिरी बजार पुग्ने लामोसाँघु–जिरी सडकको स्तरोन्नति गर्न एक्जिम बैंकको लगानीमा सरकारले पहिलो चरणमा खाडीचौर–चरिकोट खण्डलाई विस्तार गर्न भदौ ०७२ बाट काम सुरु गरेको थियो । दुई प्याकेज गरी ५५ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गरी दुई वर्षभित्र सक्नुपर्ने भए पनि ढिलाइ भइरहेको छ ।

दोस्रो प्याकेजको काम पुनः रोकियो
आयोजनाको दोस्रो प्याकेजअन्तर्गत मुडे–चरिकोटखण्डमा भने काम रोकिएको छ । ठेकेदार कम्पनी म्याद थपको प्रक्रियामा रहेका कारण काममा केही ढिलाइ भएको हो ।