श्रीलङ्कामा शोक र सङ्कटकाल, मृतकको सामुहिक अन्त्येष्टि

76

वैशाख १०, बीबीसी,
काठमाडौँ – श्रीलङ्कामा ठूलो सङ्ख्यामा मानिसहरू हताहत हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि मङ्लवार शोक मनाइँदैछ। देशका विभिन्न स्थानमा गिर्जाघर र होटेलमा आइतवार बम आक्रमण हुँदा हालसम्म ३१० जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। थप आक्रमण हुन नदिन तथा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा सङ्कटकाल घोषणा गरिएको छ। हताहत भएकामध्ये कम्तीमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ। घटनामा परेर ज्यान गुमाएका अधिकांश व्यक्तिको मङ्गलवार श्रीलङ्कामा अन्तिम संस्कार हुँदैछ।

किन लगाइयो सङ्कटकाल?
आइतवारका घटनाहरूपछि देशभरि राति कर्फ्यू लगाइयो। सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ फेला पारे। त्यसपछि थप आक्रमण नहोस् भनेर सरकारले सङ्कटकाल लगाउने निर्णय गर्‍यो। सोमवार मध्यरातदेखि सङ्कटकाल लागु भएपछि सुरक्षाकर्मीहरूले विशेष अधिकार पाएका छन्।
सङ्कटकालको अवधिमा सुरक्षा निकायका अधिकारीहरूले अदालतको आदेशबिनै शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन गर्न सक्नेछन्।

बीबीसी संवाददाता अन्वरासन इथिराजन अहिले श्रीलङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको बताउँदै सर्वसाधारणमा विद्यमान त्रास हटाउनु अबको प्रमुख चुनौती रहेको बताउँछन्। उनी भन्छन्, “मानिसहरू डराइरहेका छन्। सोमवार प्रहरीले थप विस्फोटक पदार्थ फेला पारेको थियो। उक्त विस्फोटक पदार्थ निष्क्रिय बनाउँदै गर्दा एउटा बम पड्किएको थियो। सुरक्षा अधिकारीहरूको अबको चुनौती भनेको सर्वसाधारणको आत्मबल फर्काउने हो।”

किन उत्पन्न भयो विवाद?
देश शोकमग्न हुँदा श्रीलङ्काको उच्च नेतृत्वमा भने केही विवाद देखिएको छ। सोमवार श्रीलङ्कामा आक्रमण हुन सक्ने चेतावनी सुरक्षानिकायलाई पहिला नै प्राप्त भएको विवरण सार्वजनिक भयो। त्यसपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई त्यसको जानकारी नदिइएको मन्त्रीहरूले बताए। श्रीलङ्का सरकारका एक प्रवक्ताका अनुसार सरकारभित्र बढ्दो विवादका कारण गुप्तचर सूचनाबारे जानकारी दिइने बैठकमा लामो समयदेखि प्रधानमन्त्रीलाई नै सहभागी गराइएको छैन।

गत वर्ष अक्टोबरमा राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमसिङ्घलाई पदमुक्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलङ्कामा संवैधानिक सङ्कट उत्पन्न भएको थियो। तर सर्वोच्च अदालतले विक्रमसिङ्घलाई पुनर्स्थापित गरिदियो। त्यसयता राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी बैठकहरूमा सहभागी गराउने गरेका छैनन्।

कस्तो पूर्वसूचना थियो?
सरकारका प्रवक्ता राजित सेनारत्नेका अनुसार गुप्तचर निकायहरूले आइतवारको आक्रमण गराउने जिहादी समूहबारे एप्रिल ४ देखि नै चेतावनी दिँदै आएका थिए। त्यसमा आधारित भएर रक्षा मन्त्रालयले प्रहरी प्रमुखलाई जानकारी गराएको थियो। उनका अनुसार विदेशी गुप्तचर निकायले न्याश्नल तौहिद जमात नामक अतिवादी समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। अमेरिकी सञ्चारमाध्यमहरूले श्रीलङ्काका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र भारतले सम्भावित घटनाबारे चेतावनी दिएको उल्लेख गरेका छन्।