घर मात्र दिएर हुँदैन, माया पनि दिनुपर्यो : नायिक श्वेता खड्का

99

वैशाख १०
काठमाडौं । फिल्म सुटिङक्रममा नेपालका कुनाकन्दरा पुग्दा उनलाई अधिकांशले भन्छन् – हेर हेर, नायिक श्वेता खड्का। काठमाडौंबाट करिब ७० किलोमिटर पर सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा भने उनको परिचय बेग्लै छ। उनी इन्द्रावती नदीअगाडि ब्युँतिदै गरेको माझी बस्ती निर्माणमा सहजकर्ता हुन्। भुइँचालोले ध्वस्त पारेको माझी बस्ती पुनर्निर्माणमा सघाउने भनेर आँटेकी उनी समस्याका बाबजुद पछि नहट्ने बताउँछिन्।

‘घरहरूको काम अन्तिम चरणमा छ,’ श्वेताले भनिन्, ‘घर मात्र बनाएर हुन्न। त्यहाँ व्यवस्थित बाटो, पानी सुविधा, पार्क र एकीकृत बस्तीमा हुनुपर्ने भौतिक पूर्वाधार चाहिन्छ। यो सबै बनाउन बाँकी छ।’८० प्रतिशत घर बनिसकेका छन्। बाँकी भौतिक पूर्वाधार लगायत काम सक्ने बाचा श्वेताले गरेकी छन्। तर दुई वर्षअघि सुरू भएको बस्ती पुनर्निर्माणमा आर्थिक समस्याले अड्काइरहेको उनी बताउँछिन्।

श्वेताका अनुसार ५६ घर रहेको बस्तीमा तीनकोठे घर बनेका छन्। शौचालय र त्यहाँबाट निस्केको मलमूत्रबाट गोबरग्यास प्लान्ट निर्माण भइरहेको छ। सुरुआतमा एउटा घर बनाउन सात लाख रूपैयाँ लाग्ने अनुमान गरे पनि बढेर ११ लाख पुगेको श्वेताले बताइन्। ‘लागत बढेसँगै धेरै दुःख भयो। भनेको जस्तो सहयोग पाइनँ,’ उनले भनिन्, ‘बस्ती निर्माण क्रममा निजी आवासमा हात नहाले पनि त्यहाँका मानिसलाई घर निर्माण प्रक्रियाबारे जानकारी गराउन, तालिम दिन र बैंक ऋण लिन सहयोग गरेकी हुँ।’

उनले आफ्ना दिवंगत श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा ‘श्वेताश्री फाउन्डेशन’ स्थापना गरी त्यहीमार्फत ऋण लिएर बस्ती निर्माण अगाडि बढाएकी थिइन्। सहजकर्ताको भूमिका खेलेकी उनलाई बस्ती बनाउन किन धेरै समय लाग्यो?

‘एक हामीले जेठमा बस्ती बनाउने उद्घोष गर्यौं। त्यही बेला स्थानीय तह चुनाव भयो। केही समय रोकियो,’ उनले भनिन्, ‘यत्तिकैमा बर्खा लाग्यो। सरकारले दिने भनेको ३ लाख राहत पनि आउन समय लाग्यो।’

उनका अनुसार माझी बस्तीका बासिन्दाको जग्गा उनीहरूको आफ्नो नाममा थिएन। त्यो जग्गा उनीहरूको नाममा ल्याउनै करिब चार महिना बित्यो। सरकारी अधिकारीहरूसँग कुराकानी गरी श्वेताको टोलीले सहजीकरण गरेको थियो।

‘समय लागेकै हो। बस्ती निर्माणमा हण्डर खाएँ। तर म हार खाने केटी होइन। यसले मलाई झन् शक्ति दिएको छ। मलाई धेरैले सहयोग गर्ने भने पनि दुःखमा मुख मात्र सीमित भए,’ उनले भनिन्, ‘मैले व्यक्तिगत रुपमा सहयोग गर्छु भनेको हो। यो समुदायले गरेको नेतृत्व हो। कुनै एनजिओले होइन। मैले बनाएको भन्ने हल्ला आएको छ। त्यो होइन। सबैले बनाएको हो माझी बस्ती।’

आफूले कुनै पनि कार्यक्रम गरेवापतको, रिबन काटेको, च्यारिटी गरेको पैसा श्वेताश्री फाउन्डेशनलाई दिँदै आएको उनले बताइन्। माझी समुदाय आर्थिक रुपमा विपन्न छन्। त्यसैले त्यो पैसा फाउन्डेशनमार्फत बस्तीका लागि पठाइरहेको र आफूसँग सम्पर्कमा आएका कतिपय दातालाई सोझै बस्तीमा पठाएको उनले बताइन्।

‘म्याम, नआत्तिनुस न, हाम्रो आयोजना सकिन्छ भनेर बस्तीका दाजुदिदीले नै हौसला दिन थाल्नुभएको छ। उहाँहरू हामी आतिएका छैनौं भन्नुहुन्छ,’ उनले सुनाइन्। उनले यो बस्ती पुनर्निर्माण जिम्मेवारीमा हात हाल्दा ‘श्वेताले कसरी बनाउँछे बस्ती’ भन्नेहरू धेरै थिए। काममा बाधा पनि धेरै आएको उनले बताइन्।
‘ठेकेदारले बाहिरबाट ठिक्क पार्थे। काम भने हुन्थेन। अनि धेरै धम्की दिएका पनि छन्। उनीहरूलाई पनि धन्यवाद भन्छु,’ उनले भनिन्, ‘म झनै अडिग भएर काम गर्न सक्ने भएँ।’

उनका अनुसार घर मात्र बनाइसक्न छ करोड रूपैयाँ सकिन लागेको छ। बस्तीमा बाल बगैंचा, बाटो, बायोग्यास र चौतारा निर्माणका लागि ५ करोड ४२ लाख बजेट अनुमान छ। जमिन थोरै भएकाले प्रत्येक घरमा सानो भए पनि करेसाबारी, रोजगारी सिर्जनाका लागि मौरी घार, सोलार बत्ति र पानी शुद्धीकरण व्यवस्था गरिने उनले जानकारी दिइन्।

‘पक्की सडक र ढल बनाउन भने समय लाग्न सक्छ। यी पूर्वाधार निर्माणमा मेरो लगानी हुनेछ,’ उनले भनिन्। घरहरू उठ्न थाले पनि बस्तीका धेरै समस्या ज्यूँका त्यूँ छ। यहाँका बच्चाहरू घन्टौं हिँडेर स्कुल जानुपर्छ। कोही सिकिस्त बिरामी भए अस्पताल छैन। न एम्बुलेन्स। ‘यी सबै कुरा पूर्ण नहुन्जेल श्वेताश्री फाउन्डेशन माझी बस्तीकै लागि काम गरिरहने छ,’ उनले भनिन्।

यहाँका बासिन्दाको जीविकोपार्जनको मुख्य पेसा माछा मार्ने र रक्सी बनाउने हो। पूर्ख्यौली पेसा छाडेर कतिपय क्रसर उद्योगतिर पनि काम गर्छन्। कति भने वैदेशिक रोजगारमा छन्।

त्यसैले यहाँ होमस्टे बनाउने श्वेताको योजना छ। ‘के हेर्ने भन्नुहोला त्यहाँ, माझी बस्तीको जीवनशैली नियाल्न सक्नुहुन्छ। माछा मारेर खान सक्नुहुन्छ,’ उनले भनिन्, ‘म अहिले नै यो-यो गर्छु भनेर ठोकुवा गर्दिनँ। पूर्वाधार निर्माणका सबै काम सकिएपछि के-के गर्ने भनेर अभियान नै चलाउँछु।’

साथी यज्ञराज कार्कीले ५० लाख रूपैयाँ जुटाइदिन आग्रह गरेपछि उनी माझी बस्ती बनाउन लागेकी थिइन्। त्यतिबेला निजी घर त्यहाँका माझीले नै बनाउने र बाँकी काममा श्वेताले सघाउने समझदारी थियो। उनले सोहीअनुसार काम गर्न खोजे पनि माझी बस्तीको अवस्थाका कारण सुरूआतदेखि नै सहयोग गरेको बताउँछिन्। माझी बस्ती ऋणमा भएकाले उनीहरूलाई ऋणमुक्त कसरी गराउने भन्ने चिन्ता श्वेतालाई छ।

प्रत्येक परिवारले बैंकलाई मासिक पाँच हजार रूपैयाँ व्याज तिनुपर्छ। यसनिम्ति श्वेताले विभिन्न दातालाई सहयोग गर्न आग्रह गरेकी छन्। बस्ती पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपी) मोडलमा बनिरहेको हो। सरकारले दिएको तीन लाख, सहुलियत ऋण र बाँकी रकम श्वेताले व्यक्तिगत रुपमा जम्मा गरेको उनले बताइन्। तै शोक र भोकमा डुबेको माझी बस्तीको फेरिएको अनुहार देख्दा उनको लक्ष्य अझै बलियो भएको उनले सुनाइन्।

‘बस्तीलाई आत्मनिर्भर बनाउन लागेकी छु,’ उनले भनिन्, ‘सुखदुःखमा टेकेर बनाएको यो बस्तीप्रति अगाध माया छ। त्यसैले जति नै हण्डर खाए पनि लागिरहेकी छु।’ घरहरूमा रातो जस्ता टलक्क टलक्न थालेका छन्। पीडित धेरैजसोले ओत लाग्न बास पाएका छन्। अब गाउँलेहरू पेट पाल्ने योजना बुन्नतिर लागेका श्वेता बताउँछिन्।

‘माझी बस्तीका दाजुदिदीहरू खुसी हुनुहुन्छ। वर्षौंदेखि उहाँहरू बस्दै आएको बस्ती भत्कियो। त्यही ठाउँमा नयाँ घर पाउनुभएको छ,’ उनले भनिन्। बस्ती सम्पूर्ण रूपमा कहिले बनिसक्छ भन्नेमा उनी कुनै मिति तोक्न चाहन्नन्। भन्छिन्, ‘समय तोक्ने अवस्था छैन। मेरो हातमा मात्र हुन्थ्यो भने मैले तीन महिनामा पनि सकाउन सक्थेँ होला। फेरि घर मात्र दिएर हुँदैन। माया पनि दिनुपर्यो नि।’Source:setopati