खेलक्षेत्रको विकाशमा आर्थिक र भौतिक पूर्वाधारको कमि भयोः अध्यक्ष थापा

1225

जिल्ला खेलकुद बिकाश समितिको अध्यक्षमा दीपक थापा नियुक्त भएको करिब तीन महिना भयो । बागमती प्रदेश खेलकुद बिकाश परिषदले थापालाई अध्यक्षमा २०७८ फागुन २३ गते नियुक्त गरेको थियो । थापाले अध्यक्षको पदभार भने २०७९ बैशाख ९ गते मात्र गरेका थिए । अध्यक्षको पदभार ग्रहण गरेको थोरै समय भएपनि युवा जोसका साथ उनी आफ्नो कार्यमा दैनिक खटिएर लागिरहेका छन् । अध्यक्ष थापासंग भक्तपुरको खेल र खेलाडीको अवस्थाबारे नयाँ नेपाल न्यूज डटमकले गरेको कुराकानीको सम्पादित अंश

सर्वप्रथम तपाईलाई हार्दिक बधाई 
– धन्यवाद !

भक्तपुरको खेल क्षेत्रको अवस्था के छ ?
-भक्तपुरमा अहिले वर्षाको कारणले खेलक्षेत्रका ठुला गतिविधि हुन सकिरहेका छैनन् । संस्थागतरुपमा केही संस्थाहरुले खेलकुदका प्रतियोगीता भने गरिरहनु भएको छ ।

अध्यक्षको पदभार ग्रहणपछि के–के कार्य गर्नु भयो ?
-पहिलो त हाम्रो खेलकुद विकाश समिती पूर्ण छैन, चार जना सदस्य नियुक्त गर्न बाकीँ छ । मनोनित गरेर समितिलाई पूर्णता दिने तयारीमा छौं । यो अवधिमा हामीले खेलकुदसंग सम्बन्धीत संघ संस्था र व्यक्तिहरुसंग छलफल गर्दै भक्तपुर जिल्लाको खेलक्षेत्रको विकाश के गर्न सकिन्छ भनेर लागि परेका छौं । अर्को तर्फ जिल्ला शिक्षा कार्यालयसंग पनि हामीले कुनैपनि सामुदायिक विद्यालय र अन्य संघसंस्थालाइ खेलको प्रशिक्षक चाहिने भएमा उपलब्ध गराउने कार्यको थालनी गरेका छौं । विभिन्न संघका खेलाडी र प्रशिक्षकहरुसंग भेटघाट गर्दै आइरहेका छौं ।

प्रदेश सरकारको बजेट निर्माण कार्य हुदैं छ, भक्तपुरको खेलक्षेत्रको लागि के कस्तो पहल गर्नु भएको छ ?
-भक्तपुर अहिलेसम्म खेलकुद विकाश समितिको आफ्नै भौतिक संरचना छैन । केही भएका ठाउँपनि स्थानीय सरकारसंग सहकार्य गरेर अगाडी बढ्नु पर्ने भएकाले पहल गरिरहेका छौं । प्रदेशसंग चाँगुनारायणको ताथलीमा रहेको रामसीता मन्दिर नजिकै फुटबलको मैदान बनाउन १० लाख रुपैयाँको बजेट माग गरिहेका छौं । सूर्यविनायक नगरपालिकाको गणेशमान वाटिकाको स्वामित्वमा हरेको बासुकी खेलमैदान निर्माणकोलागि पनि १० लाख रुपैयाको बजेट माग गरेका छौं । सूर्यविनाकय यूथ क्लव भलिबल मैदान बनाउनपनि सो बराबरको रकम माग गरेका छौं । सोही स्थानमा कर्भड हलकालागि डीपीआर बनाउन २० लाख माग गरेका छौं । भक्तपुर जिल्ला खेलकुद विकाश समितिको नाममा रहेको महेश्वरी खेल मैदानमा कार्यालय निर्माणकालागि डीपीआर बनाउन २० लाख रुपैयाँ मागेका छौं । भक्तपुर सिद्धिस्मृति खेल मैदानको डीपीआर बनाउन २० लाख माग गरेका छौं ।

स्थानीय सरकारले खेलकुद विकाश समितिलाई सहयोग गरेका छन् ?
-स्थानीय निर्वाचन र जिल्ला समन्वय समितिलको निर्वाचनको कारणले गर्दा नगर प्रमुखहरुसग प्रत्यक्ष भेट हुन सकिरहेको छैन् । फोनमा उहाँहरुसंग कुराकानी गर्दा खेल र खेलक्षेत्रको विकाशकोलागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
खेल क्षेत्रको विकाश गर्न जिल्लामा के कस्ता समस्याहरु छन् ?
हामीले प्रदेश सरकारसंग बजेटको माग गरिहरेका छौं । हामीसंग कुनै पनि कर्भड हल नभएकाले वर्षाको कारणले गर्दा गतिविधी शुन्य जस्तै छ । अर्थिक रुपमा समेत संस्थासंग बजेट नभएकाले काम गर्न केही कठिनाई छ । खेलमैदान पनि छैन । भौतिक पूवार्धार र आर्थिक कारण मुख्य समस्या देखिन्छ ।

जिल्लामा कुन कुन खेलका राष्ट्रियस्तरका खेलाडी हुनुहुन्छ ?
-भक्तपुर जिल्लामा फुटबल, तेक्वान्दो, एथ्लेटिक्स, कववडीउसुलगायत सबै खेलका खेलाडी हुनुहुन्छ ।

जिल्लामा सबै खेलका प्रशिक्षक हुनुहुन्छ ?
-हाम्रो जिल्लामा फुटबल, तेक्वान्दो, एथ्लेटिक्स, कववडी, उसु, बक्सिङलगायत सबै खेलका प्रशिक्षक हामीसंग हुनुहुन्छ ।

सबै खेलहरु जारी छन् ?
-अहिले सबै खेलहरु संचालनमा छन् ।

खेलाडी उत्पादनको रणनीति के छ ?
-विद्यालयस्तरबाट नै खेलाडीहरुलाई छनोट गरि निरन्तरता दिने र संम्भव भएसम्म एउटा खेलकुद सम्बन्धी विद्यालय नै बनाउने अवधारण छ । भलिबल संघसंग समन्वय गरेर भलिबल खेलको प्रशिक्षण केन्द्र भक्तपुरमा खोल्ने योजना पनि छ ।

……र अन्त्यमा
-तपाईको संचार माध्ययमा केही भनाई राख्न दिनु भएकोमा धन्यवाद । भक्तपुरमा खेल क्षेत्रलाई व्यवसायीक र खेलाडीलाई टिकाई राख्न हामी सबैले पहल गर्नु पर्दछ । सबै नगरपलिका, राजनीतिक दल, खेलाडी, विद्यालय, सरोकारवाला, खेलक्षेत्रका शुभचिन्तक मिलेर नै भक्तपुरलाई खेल र खेलाडीको जिल्ला बनाउन सकिन्छ ।