वर्षाका कारण नेपाल यूएईसँग एक रनले पराजित

166

चैत ३०,
काठमाडौँ -अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले यूएईसँग एक रनले पराजित भएको छ। शनिवार मलेशियाको किनरारा मैदानमा भएको खेलमा पहिलो खेल खेलिरहेका हरि चौहान र भीम सार्कीको पचास अर्धशतकको मद्दतले नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनायो।

यूएईले भने ३० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकेपछि डिएलएस मेथडको आधारमा यूएई विजयी भयो।

मैदानमा २४८ रनको लक्ष्य लिएर आएको यूएईको सुरुवात राम्रो भएन्। पाँच ओभरभित्रै २२ रनमा यूएईले दुई विकेट गुमायो। तर अन्स टन्डन र भिर्त्या अराविन्दले १०१ रनको साझेदारी खेल्दै यूएईलाई खेलमा फर्काए। वर्षाले खेल रोक्नु अगाडीको अन्तिम बलमा सौरभ ढकालले टन्डनको विकेट लिए।

यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न निमन्त्रण गर्‍यो। शुक्रवारको खेलमा सिङ्गापुरलाई २१७ रनले हराउँदा म्यान अफ द म्याच भएका पवन सर्राफ लामो समय टिक्न सकेनन्। सर्राफ १२ रन बनाएर आउट भए तर उनीसँग सुरुमा आएका रीत गौतम र आसिफ शेखले इनिङ सम्हाले। शेखले २७ बनाए भने कप्तान रोहित पौडेल १८ रनमा आउट भए।गौतम ४४ रन बनाएर आउट हुँदा नेपालको स्कोर पाँच विकेटमा ११५ रन थियो र नेपाली ब्याटिङ असफल हुने सम्भावना देखियो।

तर चौहान र सार्कीले धैर्यपूर्वक खेले र दुवैले पचास रन पूरा गरे। सार्की ५४ बलमा चार चौका र दुई छक्काको सहायताले ५३ रन बनाएर आउट हुँदा नेपालले २०७ रन जोडिसकेको थियो। चौहान भने अन्तिमसम्म नटआउट रहे र ७४ बलमा सात चौकाको बलमा ६७ रन बनाएर नेपाललाई राम्रो स्कोरमा पुर्‍याए।

यूएईको तर्फबाट सबैभन्दा सफल बलर रिषभ मुखर्जी रहे जसले ६४ रन खर्चेर चार विकेट लिए। मोहम्मद फराजुद्दिनले तीन विकेट लिए।