सम्पदा संरक्षणमा विदेशीको भर पर्नु गलत हो ः अध्यक्ष बिजुक्छेँ

60

चैत २६,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले सम्पदा संरक्षणमा विदेशीको भर पर्नु गलत हुने बताएका छन् । उनले नयाँ पुस्तालाई पुरानो शैलीको घर निर्माण गर्न डकर्मी र सिकर्मी तालिमहरू दिनु आवश्यक भएको समेत बताए । भक्तपुर नगरपालिका वडा नं. १ मा क्रियाशील उपभोक्ता समितिबीचको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षण गर्न दक्ष जनशक्ति आवश्यक भएको बताए ।
ऐतिहासिक महत्वपूर्ण पुराना पोखरीहरूको संरक्षण र सम्बद्र्धन हुनु सकारात्मक भएको बताउदैं सरकारको काममा अनियमितता र आर्थिक हिनामिना बढी हुँदा विकास निर्माणका कार्यमा ढिलाइ हुने गरेको बिजुक्छेको भनाई छ । विकास निर्माणमा महिलाहरूको सक्रिय सहभागिताको प्रशंसा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नियमित स्वास्थ्य जाँच, स्वस्थ खानपिनमा महिलाहरू सचेत हुनुपर्ने र महिलाहरू राजनैतिक रुपले सचेत हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौंको रानीपोखरी पुनःनिर्माणमा भक्तपुरले गरेको सहयोग चर्चाको विषय बनिरहेको स्मरण गर्नुहुँदै भक्तपुर नगरपालिकाले नाफालाई नभई गुणस्तरीय र समाजको सेवा गर्ने भावले कार्य गरिरहेको बताए ।
आर्थिक अनुशासन र जनताको सहयोगमा भक्तपुरको विकास निर्माणका कार्य अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले आफूसँग भएको सीपको प्रयोग गरी समाज र देशको सेवा गर्ने भावनाले काम गर्न आह्वान गरे । कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भक्तपुर नपा वडा नं. १० का पार्टी इञ्चार्ज लक्ष्मीनारायण राजलवटले वडामा भइरहेका विभिन्न गतिविधिबारे जानकारी दिंदै उपभोक्ता समितिमा बसेर काम गर्न उत्साहित पारेका थिए । तस्विरः भक्तपुर नगरपालिका