चट्याङ लागेर अछाममा १५ जना घाइते, सात जनाको अवस्था गम्भीर

72

चैत १९,
अछाम -अछाममा चट्याङ लागेर १५ जना घाइते भएका छन् । उनीहरु मध्ये सात जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका -९ तामकोट र ४ जना रामारोशन गाउँपालिका -५ सल्लीसैनका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा सोमबार राती परेको चट्याङले घाइते भएका ११ जना मध्ये ७ जनाको अझै होस खुलेको छैन । बेहोस अवस्थामा रहेकाहरु १४ वर्षका जगत बोहरा, १९ वर्षका भिमपुरा दास, ५२ वर्षका बलिराम दास, ४५ वर्षकी लडु बिक, ५७ वर्षका दुर्गे बिक, १५ वर्षकी कल्पना बोहरा र ४० वर्षकी राधिका शाही हुन् ।

उनीहरु सबै तामकोट गाउँकै हुन् । गम्भीर घाइतेहरुलाई इलाका प्रहरी चौकि कालेकाँडाबाट गएको प्रहरी टोलीले उपचारका लागि चिलतडा स्वास्थ्य चौकिमा लगेको छ । घटनास्थल चिलतडाबाट ५ घण्टाको पैदल दुरीमा पर्छ । चट्याङ लागेर घाइते भएका सोही गाउँका ४० वर्षका उज्वल सार्की, १९ वर्षका उपेन्द्र बोहरा, २५ वर्षकी निता दास र ६० वर्षकी जौकला दासको अवस्था भने सामान्य रहेको छ ।

त्यसैगरी रामारोशन गाउँपालिका ५ नेटाकोटको सल्लीसैनमा चट्याङ लागेर घाइते भएका चार जनाको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ । सल्लीसैनमा घाइते भएका १६ वर्षकी खन्टी कुमारी दमाई, १३ वर्षका दिनेश दमाई, १२ वर्षकी रुपा दमाई र ७ वर्षकी गिता दमाइलाई सामान्य उपचारपछि घर फर्काइएको छ । उनीहरु एकै घरका दाजुबहिनी हुन् । चट्याङले उनीहरुकै घरको एक भैसी मरेको छ ।