वसन्त ऋतुमा लालीगुराँसको रौनक

111

चैत ७,
गलेश्वर -यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ ।

कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले जङ्गली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख परेका छन् ।

म्याग्दीका ग्रामीण क्षेत्रका जङ्गलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । राताम्यै फुलेका लालीगुराँसको लालिमाले हरियो वनजङ्गलमा थप सुन्दरता प्रदान गरेको छ । त्यही सुन्दरतामा रमाउन र तस्वीर खिच्न युवकयुवती लालीगुराँस फुलेका जङ्गली क्षेत्रमा पुगेका छन् । म्याग्दीको पर्यटकीयस्थल टोड्के, बरङ्जाको झाँक्रीपानी, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)अन्तर्गतको प्रमुख आकर्षक मानिने घोडेपानीमा मात्रै होइन बेनी नगरपालिकाभित्रका गुराँसे पाखामा समेत तस्वीर खिच्न युवकयुवती पुगेका हुन् ।

माघ दोस्रो सातादेखिको हिमपात र त्यसलगत्तै वनजङ्गल नै ढाकिने गरी फुलेको लालीगुराँसमा रमाउन यस वर्ष सयौँ युवकयुवती जिल्लाका ग्रामीण क्षेत्रमा पुगेपछि गाउँको रौनक नै फेरिएको मङ्गला गाउँपालिका–३ झाँक्रीपानीका कोमल थापाले बताउनुभयो ।

समुद्री सतहदेखि एक हजार ५७० मिटरको उचाइमा अवस्थित झाँक्रीपानी, एक हजार ३२० मिटरको उचाइमा रहेको बेनी नगरपालिका–२ को ज्यामरुकोट, बेनी नगरपालिका– ३ भकिम्लीको तोराखेत क्षेत्र, बेनी नगरपालिका–१ रत्नेचौरको अर्जमलगायत जिल्लाको सदरमुकाम बेनीबजारबाट नजिकै रहेका जङ्गलमा राताम्यै लालीगुराँस फुलेको छ ।

यी सबै ठाउँबाट धौलागिरि, नीलगिरि, माछापुच्छ«े, गुर्जा, पुथालगायत सात वटा हिमाल देख्न सकिन्छ । साथै झाँक्रीपानीबाहेकका अन्य ठाउँबाट कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजारसमेत देख्न सकिने र तस्वीरको पृष्ठभूमिमा हिमाल, गुराँस, नदी र बेनीबजार पनि आउने हुँदा यी ठाउँमा तस्वीर खिच्न युवकयुवती आउने गरेका बेनी नगरपालिका–२ का भीमबहादुर पौडेलले बताउनुभयो ।

ऐतिहासिक ज्यामरुककोटको खड्ग भवानी कोट संरक्षण तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले ज्यामरुककोटको विशेषता नै नजिकबाट लालीगुराँससँगै माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलाका सुन्दर दृश्य, सदरमुकाम बेनीबजार, नागबेली भएर बगेका म्याग्दी र कालीगण्डकी नदीका साथै बागलुङ र पर्वतका ३३ गाउँ देखिनु रहेको बताउनुभयो । प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि ज्यामरुककोट एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उहाँको भनाइ छ ।

वनैभरि फुलेका राताम्यै लालीगुराँस, बेनीबजारलाई फन्को मारेजस्तो देखिने कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहे जस्ता देखिने हिमशृङ्खला, चारैतिर ग्रामीण परिवेश, हरिया डाँडा, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले आफूलाई मोहित गराएको पर्वतको जलजला गाउँपालिकाबाट साथीहरुसँग ज्यामरुककोटको फापरखेतमा आयोजित फागुपूर्णिमा मेला हेर्न आउनुभएका १९ वर्षीय देवबहादुर जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै स्थानबाट गुराँस, हिमाल, बजार, नदी गाउँ र जङ्गलको दृश्य त मैले कहीँ पनि देखेको थिएन ।”

लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका बेला लालीगुराँस फुलेको ठाउँमा गाडी रोकेर तस्वीर खिचाउनेमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसी र बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल पनि हुनुहुन्छ ।

सबैलाई आकर्षित गर्ने लालीगँुरासको संरक्षणमा भने कसैको पनि ध्यान गएको देखिँदैन । नगरपालिकाका उपप्रमुख बरुवालले नगर क्षेत्रभित्रका लालीगुराँस फुल्ने जङ्गलको संरक्षणमा सामुदायिक वन, स्थानीय जनप्रतिनिधि र पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाले विशेष चासो राख्न र पहल गर्न आवश्यक रहेको बताउनुभयो ।-रासस