पर्यटन क्षेत्र गति लिन अब पाँच वर्ष लाग्ने

342

भदौ २२,
काठमाडौं । कोभिड-१९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको संभावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, नीजि क्षेत्र लगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए । ‘अब मास टुरिजमको एरा गयो ।’ पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विशेष इन्ट्रेसको आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिने उनले बताए ।

नेपालको पर्टयन क्षेत्रले पर्यटकका लागि के–के दिन सक्छन् भन्ने निश्चित पनि गर्नुपर्ने उनको भनाई थियो । पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई थियो । भुकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालिको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्नेमा उनको जोड थियो ।