भ्रमण वर्ष सफल बनाउन पूर्वाधार विकासमा तीव्रता

65

फागुन २७,
काठमाडौँ -नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ठूला पूर्वाधार तथा योजनामा जोड दिँदै साना तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राख्नुपर्ने पर्यटन क्षेत्रसँग आबद्ध सरोकारवालाले बताएका छन्। सरकारका मन्त्री, कूटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने औंल्याएका हुन्।

पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धि र बसाइ अवधि लम्ब्याउन पर्यटन पूर्वाधार विकासलाई तीव्रता दिन आवश्यक रहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए। ट्राभल हिमालय म्यागजिनको २०औं वार्षिकोत्सको अवसरमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउन अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए। साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायबीच रणनीतिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाइ थियो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीतसिंह पुरीले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिए। उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए। भ्रमण वर्षलाई सफल बनाउन पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तीव्रतामा रातदूत सिंहले जोड दिए।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए। भ्रमण वर्षमा लक्षित कार्यक्रमले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्‍याउने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। Annapurna