विप्लव कार्यकर्ता द्धारा प्रदेश सांसद मल्ललाई अपहरण गरेको स्वीकार

123

फाल्गुन २४,
बझाङ — सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले अपहरण गरेका छन् । विप्लवका बझाङ जिल्लाका एकजना कमाण्डरले सांसद मल्ल आफूहरूको नियन्त्रणमा रहेको कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सम्मानका साथ राखिएको छ। देवकी मल्लले प्रदेश सांसदको हैसियतमा भएर पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा प्रभावकारी भूमिका खेल्न नसकेको विषयमा सोधपुछको लागि नियन्त्रणमा लिएको उनले बताए। उनले सोधपुछपछि सांसद मल्ललाई आजै छोडिने बताएका छन्।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बिन्दु चन्दलाई सरकारले गिरफ्तार गरको, बझाङको देउरामा हुन लागेको महिला संगठनको कार्यक्रममा प्रहरीले दमन गरेकोले मल्ललाई अपरहण गरिएको समेत उनले बताए। नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो। केदारस्युँ गाउँपालिकाको सैन्सुबाट मल्ल अपहरणमा परेकी हुन्। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पनि सांसद मल्लको अपहरणबारे जिल्ला प्रशासन कार्यालयमा सूचना आएको र यस विषयमा बुझ्ने काम भइरहेको बताएका छन्।

मल्ललाई अपहरण गरेर ३०/३५ जना विप्लवका कार्यकर्ताले बुङगल नगरपालिकाको जंगलतर्फ लगेको स्थानीयले बताएका छन्।