धनगढी बम विस्फोट : घाइते एक जनाको ज्यान गयो

200

साउन ३,
कैलाली । कैलालीको धनगढीमा बम विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको छ । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको निलम होटल भएको विष्फोटमा घाइते भएका अन्य चार जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा लक्ष्मण सेरेला, मोविन खाँन, जितेन्द्र यादव र केशवराज पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा डिएसपी दक्षकुमार बस्नेतले घटनाको लगत्तै प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।

बम बिस्फोट कसले गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटना स्थलमा एक थान पेस्तोल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । यसैबीच विप्लव समूहका कैलाली जिल्ला सेक्रेटरी प्रकाशले एक विज्ञप्ती जारी गर्दै कैलालीको वम विष्फोटको घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको स्पष्ट पारेको छ ।