सडक छेउमा रहेका टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध

179

फागुन २१
काठमाडौँ -सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् ।

महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्कोलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहरा हट्न नसकेको चक्रपथ सुधार योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार यी स्थानमा ठूला घर नभएपनि काठ, बाँसलगायतका निर्माण सामग्री राख्नका लागि बनाइएका टहरा यथावत् रहेका छन् ।

पटक÷पटक यी टहरा हटाउनका लागि भनिएपनि नहट्दा काममा बाधा पुगेको योजनाले बताएको छ । उहाँले भन्नुभयो, “हामीले लिखित र मौखिक दुबै रुपमा टहरा हटाउन भनिरहेपनि उनीहरुले बेवास्ता गर्दै आएका छन् ।”

नेपाल सरकारले गर्ने भनिएको भित्री दुई लेनको सडकमा झण्डै ७० प्रतिशत काम भइसकेको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “टहरा हट्नासाथ बाँकी ३० प्रतिशत अघि बढ्नेछ ।” स्थानीय तहले यहाँका घरटहरा हटाउनका लागि सहयोग नगरेको योजनाले बताउँदै आएको छ ।-रासस