दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं :मन्त्री खनाल

77

फागुन २१
काठमाडौँ -कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भैसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं । अहिले दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भएका छौं।’
त्यस्तै, उनले फलफुलमा नेपाललाई आत्मनिर्भर आगामी ५÷६ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरे । कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नको लागि अध्ययन गर्न कार्यदल बनाएर काम भैरहेको पनि मन्त्री खनालले जानकारी दिए ।

त्यस्तै, आधुनिक कृषि प्रणालीको लागि उदयपुरको बेलका नगरपालिकामा मोडल फाम बनाउने तयारी गरिसकिएको पनि उनले जनाए । उनले भने,‘त्यहाँ ७ हजार बिघा बाँझो जमिन रहेको छ, अब हामी प्राङगारिक र आधुनिक दुवै कृषि प्रणालीलई द्रुत गतिमा अघि बढाउँछौं ।’ आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ योजनाहरु अघि बढाउने पनि उनले जनाए ।

मन्त्री खनालले किसानलाई सहुलियतमा ऋण दिनेगरि आफूले व्यवस्था गरिसकेको सुनाए । त्यस्तै, ५ हजार युवाहरुलाई व्यवस्थित गर्नेगरि पुर्वदेखि पश्चिमसम्म एउटा रोष्टर तयार पार्ने पनि उनले सुनाए । उनले भने,‘युवाहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गर्छौं ।’ यो कार्यक्रमलाई अघि बढाउनको लागि आगामी बजेटमा ५ सय करोड माग गरिएको बताए ।