अब सैनिक परिवारलाई २५ लाखसम्मको सहुलियत कर्जा

104

फागुन १६
काठमाडौं -नेपाली सेनाले २० फागुनदेखि सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ कार्यान्वयनमा आउने जनाएको छ । कोषले महाशिवरात्री तथा सेना दिवसको अवसरमा सो कर्जा कार्यान्वयनमा ल्याउन लागेको हो । कोषले सो कर्जाले आफ्ना हिताधिकारीका सन्ततिहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुग्न सक्ने अपेक्षा राखेको छ ।

सेनाले स्वदेश वा विदेशमा चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि तथा पशु विज्ञान र वन विज्ञान संकायमा स्नातक तह वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि वार्षिक ५ प्रतिशतको सहुलियतपूर्ण व्याजदरमा अधिकतम २५ लाखसम्मको ‘सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५’ अनुसार ऋण उपलब्ध गराउने छ । यसका लागि सेनाले प्रभु बैंकसँग सहमति गरेको छ । सेनाले प्रतिष्पर्धाका आधारमा प्रभु बैंक लिमिटेडलाई छनौट गरेको हो ।

शैक्षिक कर्जाका लागि पाँच लाखसम्म सम्बन्धित अभिभावकको व्यक्तिगत धन जमानी चाहिने छ । सो रकम भन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कल्याणकारी कोषलाई सबै तह लाभान्वित हुने गरी परिचालन गर्ने बताउँदै आएका छन् ।-राजधानी