‘सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, नियम गर्न खोजिएको छ’ :मन्त्री बास्कोटा

165

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कुरा बेतुकको हल्ला मात्रै भएको बताएका छन् ।
सूचना तथा प्रविधिसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा सांसदहरुको जबाफ दिँदै मन्त्री बास्कोटाले नभएको कुरालाई हो भनेर समय खेर फाल्नु आवश्यक नै नभएको स्पष्ट पारे ।

‘स्वतन्त्रताको सीमा हुँदैन, तर मर्यादाको चाहिँ सीमा हुन्छ त्यो नाघ्न मिल्दैन’, उनले भने, ‘सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, नियम गर्न खोजिएको छ, सामाजिक सञ्जालका कम्पनी दर्ता हुनुपर्छ, कसैले पनि मनपरी गर्न पाइँदैन ।’ मन्त्री बास्कोटाले कम्युनिष्ट सरकार आएपछि नेपाली कांग्रेसले प्रयोग गर्दै आएका जुम्ल्याहा शब्दको पनि चर्चा गरे । ‘जुम्ल्याहा शब्द छन् नि, तीसँग जोडेर हेर्नुपर्दैन, दम्भ र अधिनायकवाद’, उनले भने, ‘ज्ञानेन्द्र फाल्ने एउटा कम्पोनेन्ट नै यहाँ आएको छ । कसैको बेपत्ताको योगदान र कसैको बेमतलवको परिणाम गणतन्त्र होइन ।’

मन्त्री बास्कोटाले यो विधेयक राम्रो उद्धेश्यका साथ ल्याइएको पनि बताए । ‘राम्रो गर्न खोज्दा खोज्दै इरर छ भने हटाउन सकिन्छ’, उनले कांग्रेसतर्फ लक्षित गर्दै भने, ‘पूर्वाग्रहलाई त के गर्न सकिन्छ र ? सलाम छ हजुर ।’

सामाजिक सञ्जालको दुरुपयोगले मानिस आत्महत्या गर्ने बिन्दूसम्म पुगेको चर्चा उनले गरे । ‘सामाजिक सञ्जाल चलाउन पाइँदैन भनेको छैन’, उनले थपे, ‘यसले प्रेस स्वतन्त्रतालाई कहिँ पनि खण्डित र कुण्ठित गर्दैन, सामजिक सञ्जाल र प्रेस स्वतन्त्रता फरक कुरा हुन् ।’

सामाजिक सञ्जालले जिउँदै मान्छेलाई मारिदिएको पनि उनले चर्चा गरे । ‘यो पनि जुम्ल्याहा शब्दको अधिनायकबाद र दुईतिहाइको दम्भ हो भनियो । सामाजिक सञ्जालले जिउँदैलाई मरेको बनाएको छ, यो मजाकको विषय होइन’, बास्कोटाले थपे, ‘केही सांसदले राजश्वको कुरा होइन भने तर यसमा राजश्वको कुरा छ, आर्थिक कुरा पनि यसमा छ ।’

मन्त्री बास्कोटाले सामाजिक सञ्जालको दुरुपयोग गर्दै पशुको ज्यानमा कुनै व्यक्तिको टाउको राखेर अपमान नदिइने पनि प्रष्ट पारे । ‘पशुको ज्यानमा मान्छेको टाउको जोड्न दिँदैनौँ’, उनले थपे, ‘यसो गर्दा कसैको चित्त दुखे पनि केही फरक पर्दैन ।’

मन्त्री बास्कोटाले यो मजाकको विषय नभएको बताउँदै स्वतन्त्रताको गीत गाउने हक कुनै दलको मात्रै नभएको भन्दै कांग्रेसमाथि कटाक्ष गरे । ‘केहीले व्यक्तिले पनि दर्ता गर्नुपर्ने भनेर असत्य उरालिरहेका छन्’, बास्कोटाले अन्तिममा भने, ‘दिउँसो झलमल घाम लागेको छ, लागेको छैन भन्नेलाई त के गर्नु ?’