Thursday, September 24, 2026
Home अर्थ कमिसन नबढाए २८ फागुनबाट आपूर्ति बन्द गर्ने ग्यास उद्योगीको धम्की

कमिसन नबढाए २८ फागुनबाट आपूर्ति बन्द गर्ने ग्यास उद्योगीको धम्की

78

नयाँ पत्रिका
फाल्गुण ९, काठमाडौं -कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीले आपूर्ति ठप्प पार्ने गरी हड्तालका कार्यक्रम घोषणा गरेका छन् । ६ वर्षदेखि उस्तै रहेको कमिसनदर बढाउन दबाब दिने उद्देश्यले हड्तालका कार्यक्रम सार्वजनिक गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

संघले १६ फागुनसम्म उद्योगीले पाउँदै आएको कमिसनदरमा वृद्धि नगरे १७ फागुनबाट ग्यास खरिद नगर्ने जनाएको छ । त्यस्तै, २८ फागुनबाट देशभरका उद्योग बन्द गरेर आपूर्ति ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरेको छ । ‘हामीले ग्यास बिक्री गर्दा पाउने कमिसन, ढुवानी खर्च, कर्मचारी तथा उद्योग सञ्चालन खर्चलगायतको दर ६ वर्षदेखि वृद्धि हुन सकेको छैन । यो अवधिमा सरकारलाई धेरैपटक वृद्धिका लागि पहल गरे पनि सुनुवाइ नभएपछि हड्ताल घोषणा गर्न बाध्य भएका छौँ,’ भण्डारीले भने ।

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण गर्दा उद्योगीलाई २ सय ८१ रुपैयाँ ५ पैसा कमिसन र सञ्चालन खर्चबापत उपलब्ध गराइएको छ । यसमा कमिसन प्रतिसिलिन्डर ३२ रुपैयाँ दिइएको छ । उद्योगीले कमिसनदर मात्र बिक्री मूल्यको ५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै, खर्च पनि महँगी तथा इन्धनको मूल्य घटबढ भएअनुसार समायोजन हुनुपर्ने उनीहरूको माग छ ।