कमिसन नबढाए २८ फागुनबाट आपूर्ति बन्द गर्ने ग्यास उद्योगीको धम्की

70

नयाँ पत्रिका
फाल्गुण ९, काठमाडौं -कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीले आपूर्ति ठप्प पार्ने गरी हड्तालका कार्यक्रम घोषणा गरेका छन् । ६ वर्षदेखि उस्तै रहेको कमिसनदर बढाउन दबाब दिने उद्देश्यले हड्तालका कार्यक्रम सार्वजनिक गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

संघले १६ फागुनसम्म उद्योगीले पाउँदै आएको कमिसनदरमा वृद्धि नगरे १७ फागुनबाट ग्यास खरिद नगर्ने जनाएको छ । त्यस्तै, २८ फागुनबाट देशभरका उद्योग बन्द गरेर आपूर्ति ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरेको छ । ‘हामीले ग्यास बिक्री गर्दा पाउने कमिसन, ढुवानी खर्च, कर्मचारी तथा उद्योग सञ्चालन खर्चलगायतको दर ६ वर्षदेखि वृद्धि हुन सकेको छैन । यो अवधिमा सरकारलाई धेरैपटक वृद्धिका लागि पहल गरे पनि सुनुवाइ नभएपछि हड्ताल घोषणा गर्न बाध्य भएका छौँ,’ भण्डारीले भने ।

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण गर्दा उद्योगीलाई २ सय ८१ रुपैयाँ ५ पैसा कमिसन र सञ्चालन खर्चबापत उपलब्ध गराइएको छ । यसमा कमिसन प्रतिसिलिन्डर ३२ रुपैयाँ दिइएको छ । उद्योगीले कमिसनदर मात्र बिक्री मूल्यको ५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै, खर्च पनि महँगी तथा इन्धनको मूल्य घटबढ भएअनुसार समायोजन हुनुपर्ने उनीहरूको माग छ ।