Sunday, September 27, 2026
Home खेलकुद नेपाल थाइल्याण्डसँग फराकिलो अन्तरले पराजित

नेपाल थाइल्याण्डसँग फराकिलो अन्तरले पराजित

74

फागुन ९
काठमाडौं -बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ। खराब सुरूवात गरेको नेपालले २ रनमा २ विकेट गुमाएको थियो। थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो। नेपालका लागि इन्दु बर्माले २९, सीता राना मगरले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालका लागि काजोल श्रेष्ठ, रोमा थापा, सरिता मगरले १/१ रन मात्र बनाउन सके भने कप्तान रूविना क्षेत्रीले ३ रन जोडिन्। नेपालका लागि ममता चौधरी ५ रन बनाएर आउट भइन्। थाइल्याण्डका लागि सोरनारिन तिप्पोचले २ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । उसका लागि चानिदाले सर्वाधिक ३५ रन बनाउँदा नेउमोल चाउमाईले ३२ तथा वाङपाकाले २७ रन बनाइन्। नेपालका लागि कविता कुँवर र नेरी थापाले २/२ विकेट लिइन् भने करूणा भण्डारी र रूविना क्षेत्रीले १/१ विकेट हात पारे।

प्रतियोगिताको दाबेदार मानिएको थाइल्याण्डले लगातार दोस्रो खेलमा जित हात पार्दा नेपालले पहिलो हार व्यहोर्‍यो। एसोसियट टोलीमध्ये सबैभन्दा राम्रो देखिएको थाइल्याण्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय गरी दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्न बिहीबारको खेल दुवै टोलीका लागि निर्णायक जस्तै थियो।