काठमाडौंमा फेरि नाइट बस चलाउने तयारी, महानगरपालिका र यातायात व्यवसायीबीच रात्री रुटबारे छलफल

342

फागुन ३,
काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र नाईट बस संचालनका गर्ने योजना बनाएको छ। महानगरपालिकाले नाइट बस संचालन गर्नका लागि छलफल सुरु गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार अहिले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात ,नेपाल प्रहरी,ट्राफिक प्रहरी लगाएतका सरोकारवाला निकायसंग छलफल भैरहेको छ । महानगर भएपनि ८ बजे नै डेड सिटी जस्तो भएको भन्दै महानगरपालिकालाई रातमा पनि जीवन्त बनाउन नाइट बस संचालन गर्न लागेको हो । नाइट बस संचालन गरे केहि हदसम्म जामको समस्या समेत कम हुने अपेक्षा गरिएको छ । यातायात व्यवसायीसंग भएको छलफलमा सुरक्षा र वैज्ञानिक भाडादर कायम गरे रात्रीकालीन सेवा दिन सकिने प्रतिक्रिया दिएको डंगोलले जानकारी दिए ।

कति बजेसम्म कुन,कुन रुटमा चलाउने भन्ने विषयमा अहिले छलफल भैरहेको छ। केहि समयभित्रै रात्रीकालीन बस सेवा बारे टुङगो लाग्ने डंगोलले बताए । महानगरका अनुसार पहिलो चरणमा ११ बजेसम्म संचालन गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ । यसलाई बढाएर विस्तारै केहि घण्टा समय थप्न सकिने निष्कर्ष निकालिएको छ । काठमाडौं महानगरपालिका भित्र नाईट बस संचालन गर्न लागिएको हो ।

अहिले सार्वजनिक सवारीसाधन राती १० बजेसम्म संचालन गर्ने शर्त सहित यातायात व्यवस्था विभागले रुट इजाजत दिने गर्छ। तर व्यवसायीहरुले ८ नबज्दै सवारीसाधनहरु थन्क्याउने गरेका छन् । नाइट बस सेवाका लागि काठमाडौ महानगरपालिकासंग अनौपचारिक छलफल भएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार स्थानीय तहले नै रात्रीकालीन बस सेवा संचालन गर्दा उपयुक्त हुन्छ ।

पिक एण्ड ड्रप महानगरपलिका नै सुरुवात गरेको र त्यो प्रभावकारी भएकाले रात्रीकालीन बस सेवा पनि महानगरले गर्दा उपयुक्त हुने उपाध्यायको भनाई छ । यसका लागि विभागले सहजीकरण भने गरिदिन सक्ने छ । वैज्ञानिक भाडादर कायम गर्नका लागि विभागले नीति तर्जुमा गर्न सक्दछ। अहिले ८ बजेपछि ट्याक्सीले दोब्बर सम्म लिने गरेका छन् । यो व्यवस्था भाडाका बसहरुका लागि पनि गर्न सकिने उपाध्यायले बताए । रात्रीकालीन सेवा अहिले माग र आवश्यकता भएकाले अब संचालन गर्नुपर्ने विभागको ठहर छ। रातीसम्म बसहरु पाइन्छ भन्ने भएपछि मानिसहरुको चहल पहल बढ्छ ।

यसैगरी कुनै कम्पनीका २० वटा बसहरु संचालनमा भए दिनमा १९ वटा बस संचालन गरेर रातमा एउटा बस संचालन गर्नुपर्ने नीति विभागले बनाउन सक्छ । रात्रीकालीन भाडाका सवारीसाधन संचालन गर्नका लागि मुख्य चुनौती भनेको सुरक्षा हो। काठमाडौंमा करिव ६ बर्ष अघि १४ वटा नाइट बस संचालनमा ल्याइएको भएपनि केहि समयपछि बन्द भएको थियो । त्यसबेला काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मिलेर रात्री बस संचालनमा ल्याएको भएपनि व्यवस्थापन हुन नसक्दा बन्द भएको थियो । अहिले आवश्यकता नै बनिसकेकाले दिगो हुने महानगरको भनाई छ ।- Bizmandu