Sunday, September 27, 2026
Home समाचार चावहिल मालपोतमा मन्त्री अर्यालको छड्के

चावहिल मालपोतमा मन्त्री अर्यालको छड्के

102

२१ माघ,
काठमाडौं सोमबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले चाबहिल मालपोत कार्यालय सार्न निर्देशन दिएकी छन् । कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले अर्को ठाउँमा सार्ने विकल्प खोज्न कार्यालय प्रमुख पदमप्रसाद अर्याललाई निर्देशन दिएकी हुन् ।

सेवाग्राहीलाई सास्ती र कर्मचारीलाई पनि काम गर्न समस्या भएकाले आफ्नै भवन नबनेसम्म अर्को भवनको विकल्प मन्त्री अर्यालले निर्देशन दिएकी हुन् । मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताएका थिए । उनले मालपोत कार्यालय आफ्नै भवन ठेकेदारले समयमा नबनाउँदा समस्या भएको बताएका थिए ।

सोमबार साढे १० बजे अनुगमनमा पुगेकी मन्त्री अर्यालले मालपोत कार्यालयलाई कागजरहित (पेपरलेस) बनाउन मन्त्रालयले काम गरिरहेको बताइन् । ‘हाम्रा कार्यालयको सेवामा प्रविधिको प्रयोग गर्ने भनेर डिजिटल सिस्टम अगाडि बढाएका छौं । यसलाई बिस्तार गर्दै गुणस्तर वृद्धि गरेर हाम्रा सेवालाई आइटीमै लैजाने हो,’उनले भनिन् ।

अनुगमनका क्रममा मन्त्री अर्यालसहितको टोलीले सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको गुनासो गरेका थिए । अनुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भए पनि बेलाबेला सर्भर डाउन हुँदा काम गर्न समस्या भएको बताएका थिए ।

मन्त्रालयका सचिव गोपिनाथ मैनालीले कार्यालय अनुगमनका क्रममा केही कर्मचारी अनुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए ।-अनलाइनखबर