‘द्रुत मार्ग’ द्रुत गतिमा बनाउदैं नेपाली सेना

490

चैत १०,
काठमाडौं । तराइलाई काठमाडौसंग जोड्ने छोटो सडक फास्ट ट्र्याक (द्रुत मार्ग) निमार्णको कार्य तिव्र गतिमा भइरहको नेपाली सेनाले जानकारी दिएको छ । फास्ट ट्र्याक बनेपछि यात्रा गर्दा लाग्ने समय र ढुवानी खर्च तथा पेट्रोलियम पदार्थ खपत जोगिने पक्का छ । उक्त सडक चार लेनको आधुनिक र सुविधासम्पन्न हुनेछ । ७६.२ किलोमिटर लामो हुने सडकको चौडाई पहाडी क्षेत्रमा २५ मिटर र तराईमा २७ मिटर फरक बन्नेछ । निजगढदेखि काठमाडौंसम्म ९९ वटा पुल बन्ने देवले बताए । सडकको अनुमानित लागत एक खर्ब १२ अर्ब रहेको देवको भनाइ छ । फास्ट ट्र्याक ललितपुरको खोकनाबाट सुरु हुनेछ । काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, मकवानपुरको इपागढी, छतिवन र धियाल हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ । सेनाका प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार सडकमा पर्ने झन्डै ३० हजार रूख काट्नुपर्नेछ । निजगढबाट पश्चिम नौ किमिसम्म सडक क्षेत्रमा पर्ने नौ हजार नौ सय २३ रूख काटिएको छ । हाल मकवानपुरको बुदुने र लामडाँडामा रूख कटान भइरहेको सहायक रथी भरतबहादुर खड्काले बताए । सो क्षेत्रमा करिब ८ हजार रूख कटान हुनेछ । अहिलेसम्ममा करिब ४ हजार रूख कटान भएको खड्काले बताए । रूख कटानपछि बुदुनेमा सडक निर्माण सुरु हुने सहयक रथी खड्काले बताए । सामुदायिक वनबाट काटिएका रूख उपभोक्ता समिति र राष्ट्रिय वनबाट काटिएका सम्बन्धित जिल्लाको वन कार्यालयलाई बुझाउने प्राविधिक सेनानी राजेशकुमार देवले बताए । अहिलेसम्म काटिएका रूख बुझाइसकेको उनेको भनाइ छ । सेनाले निजगढको मोहरीमा क्याम्प खडा गरेर फास्ट ट्र्याक बनाइरहेको छ । तोकिएको समय दुई वर्ष्भित्रै सडक बनाइसक्ने लक्ष्य रहेको सहयक रथी खड्काले बताए । सेनाले बारामा पर्ने चुरे क्षेत्रको आठ किलोमिटर सडकमा माटो पनि भरिरहेको छ । हाल निजगढ जिरो किलोमिटरदेखि आठ किलोमिटरसम्म माटो भर्ने र सम्याउने काम भइरहेको प्रमुख सेनानी भरतलाल श्रेष्ठले जानकारी दिए । सडक क्षेत्रमा पर्ने माटो परीक्षण पनि भइरहेको छ । सेनाले निजगढकै मोहरीमा पहाड कटान पनि गरिरहेको छ । श्रेष्ठले भने, ‘हाल यो क्षेत्रको करिब ३५ प्रतिशत काम सकिएको छ ।’ सेनाले यसअघि खोलिएको ट्र्याक सफा गर्ने र मोडहरू मिलाउने काम पनि गरिरहेको उनको भनाइ छ । फास्ट ट्र्याक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को सबै प्रक्रिया पूरा नभए पनि काम गर्न कुनै समस्या नरहेको प्रमुख सेनानी श्रेष्ठले बताए । ‘डिपिआर डिजाइन सेनाले नै गरिरहेको छ, त्यही डिजाइनअनुसार निर्माण पनि भइरहेको छ,’ उनले भने । फास्ट ट्र्याक निर्माण सुरु भएसँगै मधेस क्षेत्रका बासिन्दा र व्यवसायी उत्साही छन् । निजगढका स्थानीय तिलक घलानले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व राख्ने फास्ट ट्र्याक निर्माणमा नीति–निर्माण तहबाटै नेपाली सेनालाई काम गर्ने सहज वातावरण बन्नुपर्छ, तोकिएकै समयमा पूरा होस् भन्ने हाम्रो माग छ ।’