अख्तियारका कर्मचारी चार लाख घुससहित पक्राउ

254

१४, सुर्खेत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) चार लाख घुससहित नेपालगञ्जमा पक्राउ परेका छन्। अख्तियारको विशेष अनुसन्धान टोली सुर्खेतमा कार्यरत असइ जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुस सहित रंगेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले नेपालगञ्जबाट समातेको भन्ने खबर सुने पनि सबै विवरण थाहा नभएको बताए। ‘उ हाम्रै स्टाफ हो, यहाबाट घर जान्छु भनेर गएको हो, केन्द्रीय टोलीले समातेको भन्ने खबर आएको छ।’ सापकोटाले भने ‘आधिकारीक रुपमा केन्द्रबाट मिसिल आए पछि मात्र के कुन विषयमा हो थाहा हुन्छ।’ एकजना इन्जिनियरसँग पैसाको बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो। उजुरी लगत्तै काठमाडौंबाट खटिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको जनाइएको छ। अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले घुस दिने इन्जिनियरको नाम खुलाएको छैन्। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले असइ पक्राउको सूचना प्राप्त भइनसकेको बताए। तर अख्तियारको सुर्खेत र कोहलपुर कार्यालयले भने यसको पुष्टि गरेका छन्। नाम नखोल्ने शर्तमा अख्तियार सुर्खेतका एक कर्मचारीले अधिकारीलाई पक्राउ गरि काठमाडौं लगिएको बताएका छन्। उनका अनुसार अधिकारी पहिले देखी नै अख्तियार कार्यालय टंगाल काठमाडौंले पनि विषेश निगरानीमा राखेको बताए।