चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा पेस हुँदै

73

माघ १४, काठमाडौँ
प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रियसभामा पेश हुने भएको छ। विधयकलाई लिएर सदन र सडकमा विरोध भइरहेका बेला सरकारले राष्ट्रिय सभामा विधेयक पेश गर्ने तयारी गरेको हो।

प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा टेबल गर्न लागेका हुन्। प्रतिनिधिसभाबाट पारित विधेयक सचिवले बैठकमा टेबल गर्ने नियमावलीको व्यवस्था छ।

राष्ट्रिय सभा अध्यक्षले विधेयक टेबल गर्न निर्देशन दिएलगत्तै पारित प्रति सचिवले अध्यक्ष सामु पेश गर्नेछन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आज पनि बैठकमा अवरोध यथावत् राख्ने जनाएको छ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अवरोध कायम रहने बताए।

‘सरकारले हाम्रो मागबारे उचित ढंगले सम्बोधन नगरेसम्म अवरोध जारी रहन्छ’, पाण्डेले भने।

कांग्रेसले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल केन्द्र मातहत राख्नुपर्ने माग राखे्र संसदमा अवरोध गर्दै आएको छ।

मन्त्रिपरिषद्ले दुई वटा अस्पताल खारेजीका लागि अगाडि बढाएको भन्दै कांग्रेसले आपत्ति प्रकट गर्दै आएको छ।

प्रतिनिधि सभामा समेत कांग्रेसले सोही मागमा संसद अवरुद्ध पार्दै आएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार साँझ छलफल भएको थियो। छलफल भए पनि अवरोध अन्त्य गर्नेरनगर्ने विषयमा कुनै जानकारी नआएको पाण्डेले बताए। ‘मलाई कुनै जानकारी छैन’, उनले सेतोपाटीसँग भने, ‘बैठकमा हाम्रो अवरोध रहन्छ।’