Friday, September 18, 2026
Home शिक्षा विधेयकमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना प्रावधान

विधेयकमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना प्रावधान

126

काठमाडौँ, १० माघ
प्रा डा गोविन्द केसीले अनशन बसेको १६औँ पटकमा पनि उहाँको मागबाट उब्जेको समस्या समाधान हुन सकेको छैन ।

यिनै कारणले विसं २०६८ देखि २०७४ सम्म आइपुग्दा सात आयोग, कार्यदल तथा समिति बनिसकेको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा समेत प्रवेश गरेको छ तर अझै विवाद भने कायम छ ।

काठमाडौँमा मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रा डा गोविन्द केसीको प्रमुख माग विधेयकमा समावेश भएको जिकिर गरिएको छ । प्रा डा केसीले माग नगरेको चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने विषय भने सरकारले आवश्यकता महसुस गरी समावेश गरेको छ । यसमा नेपाली काङ्ग्रेसले फरक मत राख्दै आएको नेकपाका नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै विधेयकमा यसअघि सम्बन्धन प्राप्त गरिसकेको मेडिकल कलेजलाई पनि छानबिन गर्ने र मापदण्ड पूरा नभएको मेडिकल कलेजलाई खारेज गर्ने प्रावधान राखिएको छ ।

त्यस्तै विधेयकमा काठमाडौँभित्रका मेडिकल कलेजले रु ३८ लाख शुल्क लिन पाइने तथा काठमाडौँ बाहिरका मेडिकल कलेजले रु ४२ लाख शुल्क लिन पाइने प्रावधान राखिएको उहाँको भनाइ थियो । मेडिकल कलेजमा ३०० श्यया हुुनुपर्ने तथा तीन वर्ष सञ्चालन गरिसकेको मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन सकिने प्रावधान गरिएको भट्टराइको भनाइ थियो ।

विधेयकमा १० वर्षपछि सबै मेडिकल कलेजलाई गैरनाफामूलक तथा सेवामुखी बनाउने प्रावधान कसरी गलत हुन सक्छ भनी प्रश्न गर्दै नेता भट्टराईले यसमा नेपाली काङ्ग्रेसले भिन्न मत राखेको जानकारी दिनुभयो । टी–एसएलसीका रुपमा चिनिएको सिटिइभिटीबाट सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिको कार्यक्रमबाट ४०० कलेजबाट प्रत्येक वर्ष एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्दै रहेको र उनीहरुबाट रु १० करोड धरौटी प्राप्त भएको जानकारी उहाँले दिनुभयो ।

आवश्यक परे त्यस कार्यक्रमलाई फेजआउट गर्ने सरकारी सोचाइ भए पनि चलिराखेको अवस्थामा त्यसलाई फेजआउट गर्ने पक्षमा सरकार छैन । दश हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको यो कार्यक्रम पाँच वर्षभित्र फेजआउट गर्नुपर्ने प्रा डा केसीको माग अनुचित रहेको उहाँको भनाइ थियो ।

काङ्ग्रेसका नेता मीन विश्वकर्माले मन्त्रीले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा बन्न लागेको मेडिकल कलेज समावेश ११ कलेजसम्बन्धी फाइल मन्त्रिपरिषद्मा लगे पनि यी दुईबाहेक नौमा मात्र निर्णय गरेकामा आपत्ति जनाउनुभयो । उहाँले काङ्ग्रेस संसदीय सर्वोच्चतामा एक इञ्च पनि खलल पार्न चाहँदैन भन्नुभयो । उहाँले प्रा डा गोविन्द केसीको अनशन १५ दिन पुग्दा पनि सरकार वार्ता गर्न तयार नभएको आरोप पनि लगाउनुभयो । रासस