प्रहरीलाई घुस दियो कि झिरिप्पै

201

नेपाल समाचारपत्र दैनिक/मधुसूदन रायमाझी,
माघ ८ , काठमाडौं । प्रहरीलाई घुस दिने व्यक्तिमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पक्राउ गर्ने अभियान अगाडि बढाएको छ । प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिने २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घुस दिनेलाई प्रक्राउ गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कृत समेत गरेको छ । प्रहरीले सवारी चाँजका क्रममा प्रभावमा पार्न दुई सयदेखि दुई हजारसम्म घुस दिने सवारी चालक र सह–चालकलाई नियन्त्रणमा लिएर सामाजिक हित विरुद्धको मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत मंसिरबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर घुस दिन खोज्नेलाई नियन्त्रणमा लिने अभियान सुरु गरेको थियो । प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङगेहात नियन्त्रणमा लिएर कारवाही गरेको महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘प्रहरीलाई घुस दिने व्यक्तिलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरेको छौ, घुस दिने व्यक्ति पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेका छौं ।’ सामाजिक विकृतीको रुपमा रहेको गलत संस्कार हटाउनका लागि अभियान नै सञ्चालन गरेको बताउँदै उहाँले गलत काम गर्ने व्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो । प्रहरीलाई सार्वजनिक सवारी साधनका चालक, सह–चालक र मोटरसाइकल चालकले घुस दिएको पाइएको छ । प्रहरीले घुस खादैन भन्ने मान्यतालाई स्थापित गर्न यो अभियान सञ्चालन गरेको बताइएको छ ।