११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बुधबार दुईघण्टा लामो जवाफ सुनेपछि उत्साहित देखिएका पूर्वएमालेहरुको टिप्पणी छ प्रचण्डले आफ्नो नेतृत्व क्षमता देखाए ।नेकपाको स्थायी कमिटी बैठकमा पूर्वएमालेका माधव नेपाल र केपी शर्मा ओली गुट टक्कराएका थिए । माधव नेपाल गुटका नेताहरुले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए भने अरुले ओलीको बचाउ ।
पूर्वमाओवादीहरु बीचबीचमा बसेर बोलेकाले प्रचण्डले के भन्लान् भन्ने पूर्वएमालेका दुबै गुटका नेताहरुको चासो थियो ।पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकमा प्रचण्डले दुईघण्टा लामो जवाफ दिए । उनले पुराना नेताहरुलाई सम्झिए, सम्मान भाव प्रकट गरे अनि नयाँ पुस्ताका नेताहरु पनि सशक्त रहेको भन्दै प्रशंसा गरे ।
बैठकमा के-के भने प्रचण्डले ?
अध्यक्ष प्रचण्डले स्थायी कमिटीमा भएको छलफल उपलब्धीमूलक भएको बताए । पूर्वएमालेहरु आ(आफ्नो गुटको मानसिकता र रेडिमेट धारणाका साथ बोलेको तथा पूर्वमाओवादीहरु रक्षात्मक र बोल्न हिच्किचाएको जस्तो देखिए पनि पार्टी एकता, संगठन सुदृढीकरणका लागि ऐतिहासिक रुपमा प्रस्तुत भएको दाबी गरे ।प्रचण्डले बैठकमा आएका आलोचना र सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्ने र यसलाई नै एकताको प्रतिवेदन बनाउने बाचासमेत गरे ।
आफूहरुले एक महिनाभित्र सांगठनिक एकता टुंग्याउन प्रस्ताव गरे पनि नेताहरुले यही बैठकबाट हुनुपर्ने माग राखेको भन्दै प्रचण्डले त्यसमा सहमति जनाएका छन् ।दुबै कामका लागि गृहकार्य गर्न कार्यदल बनाउने र त्यसका सुझावका आधारमा यही स्थायी कमिटीले निर्णय लिने उनको प्रस्ताव छ ।सरकारबारे धारणा राख्ने क्रममा प्रचण्डले जनयुद्धकालमा आफूहरुबीच भएको बहस सुनाएका थिए । त्यसबेला पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्ने बहस हुने गरेको र अन्ततः सधैं एउटै निश्कर्षमा पुग्ने गरेको सुनाउँदै उनले भने, ‘पार्टीले बन्दुक चलाउने हो, अहिले बन्दुक भनेको सरकार हो ।‘त्यसैले पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने होइन’ प्रचण्डले भने ।
सरकारले महत्वपूर्ण नीति र निर्णयहरु लिँदा पार्टीमा छलफल गर्नुपर्ने उनले बताए । साथै सरकारका राम्रा कामको प्रचार गर्ने र कमजोरीहरुलाई सच्याउँदै सामुहिक रुपमा अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए ।प्रचण्डले जनताको जनवादलाई लिएर भएको बहसलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् । पार्टी एकता नेताहरुको चाहनाले मात्र नभइ नयाँ चरणको वस्तुगत आधारमा भएको भन्दै उनले भने, ‘पछाडि फर्किने पो हो कि भन्ने जुन आशंका पैदा भएको छ । होइन, हामी अगाडि नै बढ्ने हो, बढ्नुपर्छ ।’
विचारमा नै मतभेद भए पार्टीमा अन्तरसंघर्ष तीव्र हुने भन्दै उनले सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘अध्यक्षले हाम्रो लक्ष्य भनेको समाजवाद हो र हाम्रा सबै कार्यक्रम समाजवाद उन्मुख हुन्छन् भन्नुभएको छ’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने ।आफूले सधैं नेतृत्वदायी भूमिका खेल्दै आए पनि एकतापछि त्यो अवस्था नरहेको प्रचण्डले स्वीकार गरेका छन् । राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरुले उठाएको असन्तुष्टितर्फ संकेत गर्दै उनले सरकार चलाउने अध्यक्ष नै प्रमुख हो, अर्को अध्यक्ष सहायोगी जस्तो हुँदोरहेछ भनेका छन् ।‘उहाँले आफ्नो बाध्यता मात्र सुनाउन भएन, असन्तुष्टि पनि राख्नुभएको हो’ एक नेताले भने ।
पूर्वएमालेमा तरंग
तत्कालीन एमाले र माओवादीको एकतापछि ४५ सदस्यीय स्थायी कमिटीको बैठक पहिलोपटक बसेको हो । त्यहाँको बहस नेताहरुकै लागि रुचिपूर्ण थियो ।पूर्वएमालेहरु आ-आफ्नो ध्रुवमा थिए । तर, प्रचण्डले केपी ओली इतरका समूहका नेताहरु कतिसम्म खुलेर आफ्नो कुरा राख्न सक्छन् भन्ने राम्ररी बुझ्ने मौका पाए । प्रचण्डतिर नजर लगाइरहेका पूर्वएमालेहरुले पनि बुधबार उनको प्रस्तुति हेर्न पाए ।खासगरी ओली समूहको पेलाइमा रहेका माधव नेपाल गुटका धेरै नेताहरु प्रचण्डले के गर्छन् भनेर हेरिरहेका छन् । स्वयं माधव नेपालले दह्रो खुट्टा नटेकिरहेका बेला उनीहरु प्रचण्ड आफ्नो नभए पनि गुटको नेता नभइदिनुस् भन्ने चाहन्छन् ।
एमालेमा ओली इतर समूहमा रहेका एक नेता भन्छन्, ‘प्रचण्डले फराकिलो दृष्टिकोण र म यो पार्टीको नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास प्रस्तुत गर्नुभएको छ ।’यद्यपि यो भावनात्मक ढंगले पूर्वएमालेहरुमा पस्ने प्रचण्डको प्रयास मात्र भएको उनीहरुको बुझाइ छ ।पूर्वमाओवादीका एक नेताले स्थायी कमिटीमा प्रचण्डको प्रस्तुती निकै राम्रो भएको बताए । उनले भने, ‘उहाँले पूर्वएमालेहरुमा राम्रो इम्प्रेसन पार्नुभएको छ ।’-अनलाइनखबर