गैर आवासीय नेपालीद्धारा सरकारसंग जग्गा माग

86

मंसिर २८,
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनी भन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि भाडामा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । सङ्घका कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले रु एक अर्ब पचास करोड लगानी गर्ने गरी सात जनाको विज्ञ समूहले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिनुभयो ।

कृषि उपज सङ्कलनका लागि प्रदेश नं १ सरकारसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो । नाफामूलक भन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहत मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्मनिर्भरताका लागि सहयोग पुग्ने सङ्घका उपाध्यक्ष आचार्यको भनाइ छ । सङ्घले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहने छ । रासस