ओलीले नै भने सरकार सुस्त भयो

80

मंसिर ६,
काठमाडौं । आफैंले नेतृत्व गरेको सरकारका मन्त्रीहरुको काम र मन्त्रालयगत ढिलासुस्तीप्रति असन्तुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो दिनपनि आगामी योजना र कार्य प्रगतिबारे सम्बन्धित मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् ।

छलफलमा अर्थ, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, खानेपानी लगायत मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गर्ने बताइएको छ । सम्बन्धित मन्त्रीलाई समेत बोलाईएको छलफलमा प्रधानमन्त्री ओलीले ९ महिनासम्मको प्रगति विवरण र आगामी योजनाबारे टिप्पणी गर्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बुधबार पहिलो दिनको छलफलमा प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार मन्त्री तथा कर्मचारीहरुले काम गर्न नसकेको भन्दै ढिलासुस्ती नगर्न निर्देशन दिएका थिए ।

मन्त्रालयको कार्यप्रगति विवरणमाथिको छलफल शुक्रबार सक्ने तयारी छ । जसमा प्रधानमन्त्री ओलीले पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, उर्जा, सिंचाईं, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविवरण मागेका थिए । प्रधानमन्त्री ओलीले गत असारमा मन्त्रालयहरुलाई पहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिएका थिए ।