काङ्ग्रेसको सुझाव सङ्कलन सम्पन्न

149

कार्तिक २७,
भक्तपुर । नेपाली काङ्ग्रेसका प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले अब बन्ने पार्टीको नीतिका सम्बन्धमा विभिन्न सुझाव दिएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले भक्तपुरमा आयोजना गरेको पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा बोल्ने वक्ताले बिपी कोइरालाले प्रतिवादन गरेको समाजवादी आर्थिक नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा आर्थिक सुझाव मस्यौदा समितिका संयोजक डा प्रकाश शरण महतले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिँदै नेपालमा उद्योग, व्यवसाय र कलकारखानामा वृद्धि गर्ने गरी काङ्ग्रेसले नीति बनाउने बताउनुभयो । केन्द्रीय सदस्य तथा आर्थिक सुझाव मस्यौदा समितिका सदस्य शिवप्रसाद हुमागाईंले काङ्ग्रेसको नेतृत्वमा शासन सत्ता आएपछि आर्थिक विकासका लागि चाल्नुपर्ने कदम कस्तो हुनुपर्छ, समृद्धिका लागि के कसरी जानुपर्छ भन्ने बारेमा स्पष्टरुपमा सहभागीले सुझाव दिएको बताउनुभयो । प्राप्त सुझावलाई महासमितिमा र पार्टीको केन्द्रीय समितिमा छलफल गरी निष्कर्षमा पु¥याउने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद बहादुर तामाङले काङ्ग्रेसले मुलुकको स्थायी प्रकारको भौतिक पूर्वाधार विकासको गुरुयोजना तयार पार्नुपर्ने सुझाव दिएको बताउनुभयो । प्रदेश नं ३ का प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले प्रदेश सरकार आर्थिक अधिकार नपाउँदा कुपोषण लागेको बच्चाजस्तो भएको बताउँदै अबको काङ्ग्रेसको आर्थिक नीतिले सङ्घीयता बलियो बनाउने गरी आर्थिक नीति ल्याएर जनतालाई उत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो । सिन्धुपाल्चोकका पार्टी सभापति विकास लामाले खुल्ला अर्थनीतिलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै विप्रेषणलाई उद्यममा जोड्ने गरी नीति बनाउनुपर्र्ने सुझाव दिनुभयो । दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्काले लगानी बढाउन सुरक्षाको सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो भने प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाले अहिले बिचौलियाले मात्र लाभ लिएको भन्दै उत्पादक, वितरक र उपभोक्ता तीनै पक्षलाई लाभ हुने गरी आर्थिक नीति बनाएर दिगो विकासमा लाग्नुपर्ने बताउनुभयो । काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ लगायतले पार्टीभित्रको अर्थनीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो भने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले अर्थनीति दोहोरो हुनु नहुने भन्दै दोहोरो कर नीति ठीक नभएको र अझ राज्यका तीनै तहले कर लगाउँदा जनतालाई मार परेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद राधा घलेले सरकारलाई विधेयक र कानून बनाउन बाँकी चार वर्ष बित्ने देखिएको बताउँदै प्रदेशमा के कार्यक्रम ल्याउने भन्नेमा स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य गुरुराज घिमिरे, पार्टीका कर्णाली प्रदेशका संसदीय दलका नेतासमेत रहेका जीवनबहादुर शाही, गोविन्द भट्टराई, अर्जुन जोशी, विश्लेषक अच्युत वाग्ले लगायतले अब बन्ने काङ्ग्रेसको आर्थिक नीति परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र सांसद गरी ३७ जनाले आ–आफ्नो धारणा राखेका थिए । रासस