गोरखा पुगेर प्रचण्डले भने, ‘गुटबन्दी त्यागौं’

85

असोज २०,
गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूभित्रको गुट उपगुट त्याग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । शनिबार गोरखामा कार्यकर्तालाई प्रशिक्षण मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले गुटले आफूलाई नै कमजोर बनाउने बताए ।

‘हामीले राजनीतिक हिसाबमा असाधारण काम गरेका छौं, अहिले सबैको विश्वास हामीमाथि छ’ उनले भने, ‘अब काम गरेर देखाउने बेला आएको छ, गुट र स्वार्थ त्याग्ने बेला भयो, यसले कसैलाई फाइदा गर्दैन ।’

बाम एकताप्रति जनताको ठूलो विश्वास रहेको भन्दै प्रचण्डले यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । पछिल्लो समय संसारभरका प्रतिकृयावादीहरुको टाउको दुखाईको बिषय बाम एकता बनेको भन्दै उनले काम गर्न नदिने खेल सुरु भइसकेकाले सजग रहन कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

‘अहिले सबैको टाउको दुखाई हामी र हाम्रो एकता बनेको छ, प्रतिकृयावादीको आँखा हामीमाथि परेको छ, सबै सजग रहनुहोला, काम गर्न नदिने खेल सुरु भइसकेको संकेत हामीले पाएका छौं,’ उनले भने ।

देश सम्वृद्धिको महाअभियानमा प्रवेश गरेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताको अवश्यकता अनुसार काम गर्नुपर्ने बताएका छन् । प्रतिकृयावादीलाई फाइदा हुने गरी काम नगर्न पनि कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।

त्यस्तै उनले पार्टी एकतापछि तल्लो तहसम्म पनि नेतृत्वलाई विवादरहित रुपमा टुंग्याउन आह्वान गरेका छन् । केन्द्रमा नेतृत्वको बिषयमा कुनै विवाद नरहेको बताउँदै उनले पार्टीभित्र गुट र उपगुटको खेलमा नलाग्न समेत सबैलाई निर्देशन दिए ।

गोरखा चेम्बर अफ कमर्सले शनिबारबाटै गोरखामा आयोजना गरेको दशैं सस्तो बजार तथा सडक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले सार्वजानिक–निजी क्षेत्रको सहकार्य आजको आवश्यकता रहेको बताएका छन् । ‘देश नयाँ अध्यायमा प्रवेश गरिसकेको छ, अब सरकार र निजी क्षेत्रको साझेदारी र हातेमालो जरुरी छ’ उनले भने, ‘देश बनाउने जिम्मेवारी सबैको काँधमा छ, यसलाई पूरा गर्नुपर्छ ।’

देशमा रोजगारी र उत्पादन सिर्जना गर्न आवश्यक रहेको बताउँदै प्रचण्डले अहिलेको अवसरलाई गुमाउन नहुनेमा जोड दिएका छन् । ‘हामीलाई विकास र सम्वृद्धि चाहिएको छ, यसमा कसैको दुई मत छैन, अब विकास गर्ने अवसर मिलेको छ, यसलाई गुमाउनुहुँदैन्’ उनले थपे, ‘सरकार र निजी क्षेत्रको सम्बन्धलाई गुणात्मक रुपमा विकास गर्दै साझेदारी बढाउनु पर्छ ।’