एमालेले अगुवा कार्यकर्ता भेला गर्दै, अभियान शुक्रबारदेखि हेटौंडाबाट पुनः सुरु

230

फागुन २६, काठमाडौं । सप्तरी घटनाको भण्डाफोर गर्न भन्दै एमालेले काठमाडौंमा अगुवा कार्यकर्ता भेला गर्दै छ । मधेसी मोर्चाले निषेधको राजनीति गरेको र सप्तरी घटनाबारे भ्रम फैलाइएको भन्दै एमालेले कार्यकर्ताको भेला गरेर प्रशिक्षण दिन लागेको हो ।
सिंहदरवार बग्गीखाना पछाडिको योगम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो दुई बजे हुने अगुवा कार्यकर्ता भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
नेकपा एमालेको मेची(महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा गत सोमबार आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।
सप्तरीमा घेराबन्दी गरेर पार्टीका नेताहरुको सामूहिक हत्याको प्रयास भएको दाबी गरेको एमालेले घटनामा स्वयम् मधेसी मोर्चा नै दोषी रहेको बताएको छ । बुधबार एमालेसहित विपक्षी नौ दलको बैठकले लोकतन्त्रमा सबैले शान्तिपूर्ण सभा समारोह गर्न पाउने भन्दै मोर्चाको डटेर सामना गर्ने निष्कर्षसमेत निकालेको थियो । सप्तरी घटनापछि स्थगित भएको एमालेको मेची महाकाली अभियान शुक्रबारदेखि हेटौंडाबाट पुनः सुरु गर्दै छ ।