ट्राफिक कारवाहीबाट ५१ लाख राजश्व

344

साउन २४,
बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सवारीसाधन चलाएका सात हजार ८२४ चालकलाई कारवाही गरिएको थियो । यस क्रममा ६१५ ट्रक चालक, ६४१ बस चालक, तीन हजार २८९ कार\जीप चालक, दुई हजार १६१ मोटरसाइकल ,स्कुटर चालक, एक हजार ९८ ट्र्याक्टर चालक तथा अन्य सवारीसाधनका २० चालक कारवाहीमा परेका हुन् । सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्तीले जानकारी दिनुभयो । ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको घर्तीले बताउनुभयो । आव २०७३\७४ मा सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख १० हजार राजश्व सङ्कलन गरिएको थियो । “सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अझै कडाइ गर्छौं,” उहाँले भन्नुभयो ।
रासस