फोन गरेर अनलाइन आवेदन रोक्न निर्देशन दिएपछि

169

साउन १७,
लहान । यातायात व्यवस्था विभागले गत आइतबारदेखि मुलुकभरका यातायात कार्यालयहरूमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुलाएको पाँच दिन बितिसक्दा पनि सिरहाको लहानस्थित यातायात व्यवस्थापन कार्यालयमा भने खुलेको छैन। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीको जितेन्द्र सोनलको मौखिक आदेशमा आवेदन नखुलेको हो। विभागले गत असारमा बन्द गरेको अनलाइन आवेदन गत आइतबारदेखि खुला गरेको हो। तर, मन्त्री सोनलले आइतबार बिहानै कार्यालय प्रमुखलाई फोन गरेर अनलाइन आवेदन रोक्न निर्देशन दिएपछि आवेदन बन्द गरिएको यातायात व्यवस्थापन कार्यालय लहानका निमित्त प्रमुख मीनप्रसाद भट्टराईले बताए। निमित्त प्रमुख भट्टराईका अनुसार प्रदेश मन्त्रालयलाई आवेदन खुलाउने नखुलाउने विषयमा लिखित जवाफका लागि पत्रचार गरिएको छ। ‘यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहतमा रहने व्यवस्था भए पनि प्रदेश सरकारसँग त्यससम्बन्धी ऐन कानुन नबनेकाले अनलाइन आवेदन लिन बन्द गर्न निर्देशन आएपछि रोकिएको हो,’ निमित्त प्रमुख भट्टराईले भने, ‘अर्को व्यवस्था नहुञ्जेलसूचना जारी गरेरै रोकेको छौं।’ प्रदेश २ अन्तर्गत पर्साको वीरगंज, धनुषाको जनकपुर र सिरहाको लहानमा यातायात व्यवस्था कार्यालय रहेको छ। मन्त्रीको मौखिक आदेशमा अनलाइन आवेदन बन्द भएपछि लहानमा मात्रै दैनिक करिब ५०० सेवाग्राही आवेदन दिन नपाएपछि घर फर्किन बाध्य छन्।