‘हिम्मतवाली’का नायक गौतम मानव तस्करीमा

96

नयाँ पत्रिका दैनिक साउन १६,
काठमाडौ । नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो । प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो । जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए । जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो ।

औषधिउपचार अभावमा सुमित्राको मृत्यु जहाजमै भएको थियो । खाना र पिउनेपानीको अभावकै कारण जहाजमा सवार सबै बेहोस भएका थिए । समुद्री यात्रा गरिरहेका बाहमासका सुरक्षाकर्मीले अलपत्र जहाज भेट्टाएपछि उनीहरूको उद्धार गरेका थिए ।

कलाकार बनाएर मानव तस्करी
प्रहरीका अनुसार उनीहरूलाई नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेले पुयाएका थिए । त्यसपछि अमेरिका लैजाने जिम्मा भने गौतमले लिएका थिए । उनीहरूलाई संस्कार नामक चलचित्रका कलाकार तथा प्राविधिक बनाएर अमेरिका लगिँदै थियो । त्यसमध्ये सागर, लेकबहादुर, अनिल र सुरजलाई भने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरिसकेको छ ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले मानव तस्करीमा हिम्मतवाली चलचित्रका नायक सुदर्शन गौतमको संलग्नता देखिएको बताए । उनले भने, ‘हामीले केहीलाई पक्राउ गरेका छौँ । केही निगरानीमा छन् । उनीहरूको बयान सुन्दा सुदर्शन गौतमको पनि संलग्नता देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

यी रुट हुँदै अमेरिका गएका थिए तीन युवती
प्रहरीका अनुसार बाँके कोहलपुरका जसोदा र पुष्पलाई सागर, लेकबहादुर, अनिल र सुरजको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बैंकक लगे । बैंककमा दुई महिना राखे । त्यसपछि मलेसिया लगे । त्यहाँ १२ दिन राखे । अनि सिंगापुर लगे । त्यहाँ ८ दिन बिताए । फर्काएर उनीहरूलाई भारतको दिल्ली ल्याइयो । दिल्लीमा ६ दिन राखियो ।

भक्तपुरकी सुमित्रा कुँवरलाई पहिले नै त्यहाँ राखिएको रहेछ । त्यहाँबाट तीनैजना ‘संस्कार’ फिल्मको सुटिङका लागि हाइटी जान लागेको भन्दै नक्कली कागजात बनाइयो । सोही कागजातका आधारमा तीनैजनालाई दिल्लीबाट रसियाको मस्को हुँदै स्पेनको म्याड्रिड, बोगटा लगियो ।

त्यसपछि सबैलाई डोमेनिकन रिपब्लिक लगियो । करिब एक महिनाको बसाइपछि उनीहरूलाई हाइटीको राजधानी पोर्ट अफ प्रिन्स लगियो । त्यहाँ ३ महिना राखियो । त्यसपछि उनीहरूलाई हाइटीकै अर्को सहर पोर्ट अफ वे लगियो । त्यहाँबाट पानीजहाज चढाएर पोभो लगियो । यहीक्रममा जहाजको इन्जिन बिग्रियो । १८ दिनसम्म जहाज समुन्द्रमै बेवारिसे बन्यो । यसक्रमा भक्तपुरकी सुमित्राको जहाजमै ज्यान गयो । अन्य भने बेहोस बने । यहीबीचमा बाहमासका सुरक्षाकर्मीले अलपत्र जहाज भेटे ।