जंगली च्याउ खाएर बालिकाको मृत्यु

89

असार २९,
दाङ । जंगली च्याउ खाएर विरामी अवस्थामा उपचाररत एकजना बालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १९ पाँच पोखरीकी ५ वर्षीया प्रश‌ंसा घर्तीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा शुक्रवार मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले बालिका घर्तीको उपचारका क्रममा शुक्रबार बिहान बाँकेको कोहलपुरमा मृत्यु भएको जानकारी दिए। गत बुधवार नजिकैको जंगलवाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका १८ वर्षीया गोमा घर्ती, १९ वर्षीय बालाराम घर्ती र ३२ वर्षीया धनकली घर्ती गम्भीर विरामी परेका छन्। उनीहरूको पनि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यसैगरी गत बुधवारै पश्चिम दाङको शान्तिनगरमा जगंली च्याउ खाँदा नावालकसहित एकै घरका सात जना गम्भीर बिरामी परेका थिए। शान्तिनगर गाउँपालिका(२ सिम सुन्दरपुरका ५० वर्षीय सिंहबहादुर नेपाली, उनकी ४६ वर्षीया पत्नी छमकली नेपाली, छोरीहरू ३६ वर्षीया मनकुमारी नेपाली, २० वर्षीया पवित्रा नेपाली, १६ वर्षीया प्रभा नेपाली, ज्वाँई २४ वर्षीय नरेश नेपाली र उनका छोरा ३ वर्षीय अमान नेपाली जंगली च्याउ खाएपछि विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। सबै बिरामीको थप उपचारका लागि बाँकेको कोहलपर मेडिकल कलेजमा रिफर गरिएको थियो।