असार ६
काठमाडौं । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुयाउन सकेनन् भने उनी कानूनी फन्दामा पर्ने सम्भावना बढेको छ । न्युज ट्वान्टीफोर टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ ।
तर, प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यससम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामिछाने कानूनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो । घटना र विचार साप्ताहिकले समाचार छापेको छ । कुमुद लोहनी र लक्षमण विकको नाममा प्रेस काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर–कार्यालयमा बलजफ्ती घुस्ने गरेको र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिइकन नेपालमा अवैध रुपले काम गरिरहेको आरोप लगाउँदै उनलाई कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।
उजुरी परेपछि प्रेस काउन्सिलले छानविन तथा कारबाहीको आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्मको छानविन तथा अनुसन्धानबाट रवि लामिछानेले तीनवटा कानून उल्लंघन गरेको दाबी प्रेस काउन्सिलको छ ।
काउन्सिलको एक सूत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न वर्कपरमिट लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन् । दोस्रो उनले प्रेसपास लिएका छैनन् र तेस्रो लामिछानेले प्राप्त गरेको नाता भिसा लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन । उजुरीमाथि छानविनका क्रममा रवि लामिछानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र आश्चर्ययचकित बनाएको छ ।
काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन । नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को करा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’ काउन्सिल पदाधिकारीमािथ आक्रोश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्महत्यासमेत गर्नुपर्ने स्थितिमा पुयाएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोँगी हो भन्ने कुरामा मृत्युपर्यन्त विश्वास गर्छु र ढोँगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ । मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रुपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु । उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासमा बनेको छैन । ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’
विदेशी नागरिकता भएको व्यक्तिले यसरी वर्क परमिट नलिइकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने व्यक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानून अनुसार रवि लामिछानेलाई कारबाही हुने सम्भावना छ । यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने सजाय हुन सक्ला त, जिज्ञासाको विषय बनेको छ । दैनिक नेपालबाट