गृहमन्त्री र आइजिपी पुगे मेडिसिटी बम विस्फोटका घाइतेलाई भेट्न, उपचार खर्च सरकारले व्यहोर्ने

फागुन ११,
काठमाडौं – नक्खुमा भएको बम विस्फोटमा परेर घाइते भएकाहरूको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसहित गृहमन्त्री रामबहादुर थापा बादल ललितपुरको मेडिसिटी अस्पताल पुगेका छन्। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने अन्य दुईजना घाइतेहरूको मेडिसिटी अस्पतालमा उपचार जारी छ। शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने विभिन्न ठाउँमा बम फेला परेका थिए। गृहमन्त्री थापाले घाइतेहरूको सरकारले निस्शुल्क उपाचार गर्ने र घटनामा संलग्नको सत्यतथ्य बुझेर कारबाही गरिने र त्यसका लागि छानबिन गरिने बताए।