जेठ २४,
पर्वत कृषकहरूलाई बाँदरले हैरान पारेपछि पर्वतको महाशीला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आर्थिक वर्ष ०७५र०७६ मा ३० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ। बाँदरको आतंकले कृषक मारमा परेको भन्दै गाउँपालिकाले बाँदर नियन्त्रणको योजना पारित गरेको हो। हालै बसेको गाउँ कार्यपालिकाको बैठकले कृषकहरूले माग गरेको योजनाअनुसार नै उक्त प्रस्तावलाई प्राथमिकता दिएर पारित गरेको गाउँपालिकाका पदाधिकारीको भनाइ छ। यस वर्ष एक हजार बाँदर समात्ने कार्ययोजना गाउँपालिकाले बनाएको छ। नियन्त्रणमा लिइएका बाँदरलाई निकुञ्जमा बुझाउने योजना रहेको छ। कृषकले लगाएको खाद्यान्न बाली र फलफूलमा बाँदरले ठूलो नोक्सानी पु¥याउन थालेपछि कृषकहरूले गाउँपालिकालाई बाँदर नियन्त्रणको योजना ल्याउन निरन्तर दबाब दिँदै आएका थिए। साढे ४९ वर्ग किलोमिटर क्षेत्रफल रहेको महाशीलामा २५ वर्ग किलोमिटर खेतीयोग्य जमिन छ। तर, बाँदरकै कारण उक्त जग्गामध्ये धेरै बाँझो राख्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ। खेतीयोग्य जमिन बाँझो भई वनको रूप लिएपछि बाँदरको संख्या झन् बढ्दै गएको वडा नम्बर ५ का वडाध्यक्ष जीवन उचै ठकुरीले बताए। गाउँपालिकाका प्रवक्ता समेत रहेका ठकुरीका अनुसार गाउँपालिकाको दोस्रो गाउँसभाबाट बाँदर नियन्त्रणसहित स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठ वटा विधेयक पारित भएका छन्।