पशुपतिमा ९० किलो सुनको जलहरि

205

जेठ २२,
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको जलहरि राख्ने निर्णय गरी तयारी थालेको छ। शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएको छ। आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि बढाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। सुनको जलहरि राख्न रु एक अर्ब खर्च लाग्ने कोषको प्रारम्भिक अनुमान छ। यसका लागि हाल कोषसँग रु ६० करोड बजेट छ। बाँकी बजेट भक्तजनसँग दानका लागि आह्वान गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए। सुनको जलहरि राख्न सहयोग गर्ने प्रतिबद्धता आउन थालेपछि कोषले सार्वजनिकरुपमा विश्वभर फैलिएका भक्तजनसँग दान गर्न अनुरोध गर्ने तयारी गरेको हो। सरकारले आगामी आर्थिक वर्ष २०७५(२०७६ का लागि प्रस्ताव गरेको बजेटमा पनि पशुपतिमा सुनको जलहरि राख्न रु ५० लाख बजेट विनियोजन गरिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताए। मूल मन्दिरमा सुनको जलहरि राख्नका लागि निर्माण समितिको पनि गठन गरिएको छ। पशुपतिनाथका मूल पुजारी रावल गणेश भट्टको संयोजकत्वमा गठन गरिएको समितिमा कोषाध्यक्ष डा मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्यद्वय रमेशराज शिवाकोटी र राजु खत्री, कार्यकारी निर्देशक रमेशकुमार उप्रेती, कोषको संस्कृति महाशाखा प्रमुख निर्देशक भरत मरासिनी सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुंगाना रहेको प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए।