नयाँ पत्रिका दैनिक- जेठ १०
रुपन्देही । रुपन्देही र कपिलवस्तुका दक्षिणी भेगमा छोरा र छोरीलाई शिक्षामा विभेद गरेको पाइएको छ । त्यहाँका स्थानीयले छोरा जति भए पनि निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् । बबिता विश्वकर्मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित तेनुहवा सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् । उनका तीन भाइ र एक बहिनी छन् । बबिताका तीनै भाइ सुरज, सुरेश र दिनेशनजिकैको निजी विद्यालयमा पढिरहेका छन् । तर, उनी र बहिनी कविता भने सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन् । विद्यालयमा कक्षा १० को छात्रातर्फ क्याप्टेनसमेत रहेकी बबिताले छोरा र छोरीमा भएको विभेदका कारण भने खोजेकी छैनन् । बबिता भन्छिन्, ‘बहिनी र म पहिलेदेखि यही स्कुलमा पढ्छौँ, तीनवटै भाइ बोर्डिङमा पढ्छन् । किन त्यसो भयो थाहा छैन ।’
तेनुहवा सामुदायिक माविकी बबिता एउटा उदाहरण मात्र हुन् । रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका दक्षिणी क्षेत्रमा यस्तो समस्या धेरै छ । सो क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा उस्तै अवस्था छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित मोतीभारी निमावि ९आधारभूत० तहमा पनि उस्तै समस्या छ । मोतीभारी निमाविका प्रधानाध्यापक ओमप्रकाश पाण्डेयले सो विद्यालयमा ७० प्रतिशत छात्रा भर्ना गरेको बताए । पाण्डेयले भने, ‘केटीलाई सरकारी र केटालाई बोर्डिङमा पढाउने समस्या अझै पनि छ ।’












