कान्तिपुर दैनिक जेठ १०,
सुर्खेत — मदिरा सेवन गरेको बिल भुक्तानी गर्न नमान्दा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झामाथि हातपातको प्रयास भएको छ । करिब १० जनाको समूहसहित हातपात प्रयास गर्ने मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई प्रहरीले चार घण्टा नियन्त्रणमा लिएको छ।
सचिव झाका अनुसार स्वकीय सचिव बुढाले ‘मन्त्रीको आदेश’ भन्दै पटक–पटक होटलमा भएको फजुल खर्च भुक्तानी गर्न दबाब दिने गरेका थिए । बुधबार पनि उनले त्यसैगरी वीरेन्द्रनगरको एउटा होटलमा भएको मदिरासहितको बिल भुक्तानी गर्न दबाब दिए । ‘मैले मन्त्रीज्यू आएपछि मिलाएर गरौंला भनेको थिएँ, उनले त एउटा जत्थै लिएर हातपातको प्रयास गरे,’ सचिव झाले भने, ‘समयमै वन रक्षकले खबर गर्दा प्रहरी आएर घटना हुन पाएन ।’ मन्त्री काठमाडौं गएकाले आएपछि बिल फस्र्योटबारे छलफल गर्ने सोच बनाएको उनले बताए ।
मन्त्री नन्दसिंह बुढाको निजी सचिवालयले सानोतिनो बिलमात्र होइन, कर्णाली–रारा पर्यटन वर्षको लाखौं रकमसमेत फर्जी बिल बनाएर भुक्तानीको माग गरिरहेको उनले बताए । सचिव झाका अनुसार वैशाख १ गतेको पर्यटन वर्ष घोषणा कार्यक्रमका लागि मन्त्रालयले निजी सचिवालयका कर्मचारी शिखर चपाईं, शेरबहादुर रोकाया र मुकुन्दनाथ योगीलाई ९र९ लाख रुपैयाँ पेस्की दिएको थियो । तर, अहिलेसम्म त्यो रकम फस्र्योट भएको छैन । ‘सबै गरेर खर्च मुस्किलले पाँच लाख रुपैयाँ भएको होला, तर उहाँहरूले सबै रकम खर्च भयो भनेर फस्र्योट गर्न दबाब दिइरहनुभएको छ, मैले कर्णालीका गरिब जनताको नाममा आएको यत्रो रकम कसरी दुरुपयोग गर्न सक्छु रु’ उनले भने ।