नयाँ पत्रिका दैनिक- जेठ १०,
विराटनगर । सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीमा प्रहरीले मुख्य अभियुक्त बनाएको गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई भरपर्दो सुरक्षा दिन अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङमा बयानका क्रममा गोरेले आफूलाई हिरासतमै खतरा भएको बताएका थिए । उनलाई बयानका लागि बुधबार मोरङ अदालत लगिएको थियो । उनले आफू असुरक्षित रहेको बताएपछि अदालतले मानवअधिकारवादीको समेत निगरानीमा भरपर्दो सुरक्षा प्रदान गर्न मोरङ प्रहरीलाई आदेश दिएको हो । उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।
अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार गोरेले ६ नम्बर इजलासमा न्यायाधीश नारायण शर्मासमक्ष आफ्नो जिउज्यान असुरक्षित रहेकाले मानवअधिकारवादीसमेतको निगरानीमा सुरक्षा प्रदान गर्न माग गर्दै निवेदन दिएका थिए । अदालतमा बयान दिन उपस्थित गराइएका गोरेलाई पहिला एक सय ५३ पेजको अभियोग पढेर सुनाइएको थियो । त्यसपछि प्रमाणका रूपमा प्राप्त भिडियो देखाइएको थियो । त्रिभुवन विमानस्थल हुँदै तस्करहरूले ल्याएको साढे ३३ किलो सुन हराएपछि उनले आफ्नै समूहका सनम शाक्यको हत्या गरेका थिए । सुन पत्ता लगाउन यातना दिँदा उर्लाबारी–७ का शाक्यको मृत्यु भएको थियो । उनको शव १८ फागुनमा भेटिएको थियो ।