वर्षायाम नलाग्दै विपद्को सामना

177

जेठ १,
डडेल्धुरा । पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन थालेका छन् । असिनापानीका कारण बालीनाली नष्ट भएपछि भोकमरीको सामना गर्नुपर्ने अजयमेरु– २ का चन्द्र ऐरले बताए । हावाहुरीको प्रकोपले पनि ठूलो क्षति पु¥याएको छ । हावाहुरीका कारण भागेश्वर गाउँपालिकाका– ८ विद्यालयका छाना उडाउनका साथै विद्यालय भवनमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताए । हावाहुरीका कारण गन्यापधुरा गाउँपालिकामा पनि ठूलो क्षति भएको छ । गाउँपालिकाको केन्द्र बडालस्थित प्रहरीचौकी, बडाल बजारमा रहेका केही पसलका साथै गाउँपालिकाका विद्यालयको छानो हावाहुरीले उडाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लले बताए । गन्यापधुरा गाउँपालिकाद्वारा निर्माणाधीन आवास भवनका साथै स्थानीयवासीका केही पसल, विद्युत्का खम्बा र ट्रान्समिटरमा हावाहुरीले क्षति पुर्याएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको बडाल प्रहरीले जनाएको छ । स्थानीय गणेश मावि बडाल र सिमेश्वर प्रावि कुजाकोटका छाना हावाले उडाएको स्थानीयवासीले बताए । अजयमेरु गाउँपालिकाको २ नं वडामा समेत केही सर्वसाधारणका घरमा क्षति भएको चमडा प्रहरीले बताएको छ । जस्तापाताको छानो भएका घर र विद्यालयमा बढी क्षति पुगेको अजयमेरु– १ का वडाध्यक्ष दत्तीसिहं भण्डारीले बताए ।