वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १६ करोड

49

काठमाडौँ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा ज्यान गुमाउने श्रमिकका परिवारलाई आर्थिक सहायता विषयमा १६ करोड ७ लाख ५५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यसरी ज्यान गुमाउने ९ महिला सहित २८० जना श्रमिकको परिवारले यो खर्च पाएका हुन् ।

यस्तै अङ्गभङ्ग वा बिरामी भएका ३१ जना श्रमिकले औषधोपचारबापत १३ करोड तीन लाख ३७ हजार रुपैयाँ पाएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि बोर्डले औषधोपचार खर्च प्रदान गर्छ । आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ७ वटा परिवारले यो सेवा पाएका छन् । यस विषयमा बोर्डले तीन लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यस्तै वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका ३९ जना श्रमिकहरूलाई उद्धारको लागि सम्बन्धित देशको नियोगसँग समन्वय गर्ने विषयमा ८ लाख १९ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

यस्तै विभिन्न देशमा ज्यान गुमाएका ६३ जना श्रमिकहरूको शव नेपाल ल्याउन ४५ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । बोर्डले त्यसरी नेपाल ल्याएको मृतकको शवलाई घरसम्मै निःशुल्क ढुवानी गरिदिन्छ । यसको लागि यस आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ५३ लाख ६६ हजार ६५८ रुपैयाँ खर्च भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिने बेला वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । श्रमिकले जम्मा गरेको त्यही रकमबाट बोर्डले विभिन्न शीर्षकमा श्रमिक तथा उनीहरूका परिवारलाई आर्थिक सहायता गर्ने गर्दछ।