कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

9

काठमाडौं । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ६, नेकपा ९एकीकृत समाजवादी०का ४ र जसपाका १ जना सांसद छन्।

कार्की संविधानको धारा १६८ (५) अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ । तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

सो रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि जेठ ९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेको भन्दै नेपाली कांग्रेसले आजको प्रदेशसभा बैठक बहिष्कार गर्ने तयारी गरेको छ । यस विषयमा निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ।