‘पञ्चेबाजा घन्काउँदै ’सुरु भयो ‘लभ फरेभर’

153

जेठ १,
काठमाडौं । ‘उहिले बाजेको पालामा’ चलचित्र निर्माण गरेका अभिनेता गणेश बेलवासले एक वर्ष अगाडी घोषणा गरेको चलचित्र ‘लभ फरेभर’को काम सुरु भएको छ ।चलचित्रको कलाकार, छायाँकन स्थल, गीत रेकर्डिङ र प्राविधिक विषयमा धामधम काम भइरहेको बेलवासेले बताए । ‘कथा र पटकथा तयार भइसकेको छ । एउटा गीत वैशाख २० गते रेकर्ड गरिएको छ’, उनले भने, ‘कलाकारहरू कस्ता खालका राख्ने भनेर गृहकार्यमा छौं ।’राजु केसी र सुरेश हमालको लगानी रहने चलचित्र बेल्वासेले आफैले निर्देशन गर्नेछन् ।‘लभ फरेभर’को कथा र निर्माणले दर्शकलाई मनोरञ्जनका साथै फिल्मको लगानी उठाउने गरेर काम हुने बेलवासेले दाबी गरे । ‘चलचित्रमा यस पटक गहन अध्ययन गरेर पूर्ण तयारीका साथ काम गरिएको छ’, उनले भने । नेपाल र भारतका मुख्य स्थानमा छायाँकन गरिने चलचित्र सस्पेन्स प्रेम कथामा आधारित रहनेछ । यसमा नयाँ र पुराना कलाकारको अभिनय देख्न सकिनेछ ।गत वैशाख २० गते रेकर्ड गरिएको ‘लभ फरेभर’को गीतमा गायक राजेशपायल राई र गायिका सुरुचीले स्वर दिएका छन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । ‘पञ्चेबाजा घन्काउँदै।।।’ बोलको गीतका शब्द बेलवासेका हुन् ।