ओली–प्रचण्ड ‘निर्णायक’ छलफल आज

104

नयाँ पत्रिका दैनिक- बैशाख २०,
काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए । गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् । २० वैशाखमा निर्णायक छलफल गर्ने समझदारीपछि दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त बनेका थिए । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन् ।
दुई दलबीच एकीकृत पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् । स्रोतका अनुसार दुई दलबीच ६०/४० को अनुपातमा संख्यात्मक हिस्सेदारी मिलाउने गरी एकता टुंगो लगाउने तयारी छ ।