सत्र वर्षपछि मोटरसाइकल नचलाउनेलाई हेलमेट लगाइदिने तयारी

97

मधुसूदन रायमाझी (नेपाल समाचारपत्र)
जेठ ६, काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम शुरु गर्न लागेको छ । यस्तै नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो ।
काठमाडौ उपत्यकामा मोटरसाइकलको संख्या मात्र ९ लाख पुगेको छ । उपत्यकामा दैनिक रुपमा सञ्चालन हुने १२ लाख सवारीसाधनमध्ये मोटरसाइकलको संख्या मात्र ९ लाखभन्दा बढी पुगेको हो । ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाले उपत्यकामा ९ लाखभन्दा बढी मोटरसाइकल सञ्चालन हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम प्रस्ताव गरेर विभागलाई पठाउन लागेका छौं ।’

तत्कालीन सरकारले २०५९ सालमा हेलमेट लगाउने नियम लागू गरेको थियो । तर उक्त निर्णयको विरोध भएपछि सुरक्षाको कारण भन्दै २०६१ सालमा पुनः पछाडि बस्नेले हेलमेट लगाउनु नपर्ने निर्णय भएको थियो । १४ वर्षपछि ट्राफिक प्रहरीले पुनः पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले विगतमा पनि लागू गर्ने अभ्यास असफल भएकाले पुनः कार्यान्वय हुनेमा आशंका रहेको बताउनुभयो । ‘उपत्यमा अत्यधिक रुपमा गुडाउने सडक नै छैन, चालक जिम्मेवार बन्ने विषय हो, यातायात व्यवस्था ऐनमा नै हेलमेट लगाउनुपर्ने कुरा उल्लेख गर्न जरुरी छैन’ –उहाँले भन्नुभयो ।